
काठमाडौँ। आज प्रतिनिधिसभाका सभामुख पदका निर्वाचन हुँदैछ । बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा मतदान हुने भएको छ ।
सभामुखका लागि गठबन्धनबाट एमालेका देवराज घिमिरे र नेपाली कांग्रेसका ईश्वरी न्यौपाने प्रतिस्पर्धामा छन् ।
घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन‚ रास्वपा सभापति रवि लामिछाने र माओवादी केन्द्रका हितराज पाण्डे रहेका छन् ।
न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, समर्थकमा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला र कांग्रेस सांसद रमेश लेखक छन् ।
संसद सचिवालयका अनुसार आजको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ । त्यसलगत्तै उम्मेदवारीको सूचनामाथिको सामूहिकरूपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिनेछ ।
गठबन्धनका उम्मेदवार घिमिरे सभामुख बन्ने निश्चितजस्तै छ ।
संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गरिने संवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एक महिला र फरक दलको हुनुपर्ने प्रावधान छ ।