
काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको सभामुख चयन हुन सकेन । सभामुखको लागि शनिबारको मतदानमा कसैले पनि ५१ प्रतिशत सांसदको समर्थन जुटाउन सकेनन् ।
सत्ता गठबन्धनको तर्फबाट सभामुखका उम्मेदवार भीमबहादुर भण्डारी र नेपाली काँग्रेसका मानबहादुर रावल प्रतिस्पर्धामा छन् । भण्डारी र रावलले २२-२२ मत पाए ।
नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद तटस्थ रहेपछि भण्डारी र रावलको पक्षमा ५१ प्रतिशत मत नपुगेको हो । ५३ सदस्यीय प्रदेशसभामा सभामुख निर्वाचित हुन कम्तीमा २७ मत ल्याउनुपर्छ ।
विहीबार भएको मतदानमा भण्डारीले २६ र रावलले २३ मत पाएका थिए । भण्डारीलाई एक जना सांसदको समर्थन नपुगेकै कारण पुनः मतदान गरिएको थियो । शनिबार पनि आवश्यक संख्या नपुगेका कारण फेरि मतदान हुने भएको छ ।
प्रदेशसभाको अर्को बैठक माघ २ गते बिहान ९ बजे बस्ने कार्यक्रम छ। प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुखको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ। सोमबार १५ दिन पुग्दैछन् ।
सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका र एक स्वतन्त्र सदस्य छन् ।