आज :

प्रचण्डलाई प्रधानमन्त्रीमा २ सय ६८ सांसदकाे मत, विपक्षमा जम्मा २ मत

  • संवाद डबली

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट मंगलबार विश्वासको मत प्राप्त गर्नुभएको छ ।
प्रधमामन्त्री दाहालको पक्षमा २६८ मत र विपक्षमा २ मत परेको थियो ।

दाहाललाई नेपाली कांग्रेस,नेकपा एमाले,माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी,जनता समाजवादी,नेकपा एकीकृत समाजवादी,लोकतान्त्रिक समाजवादी,जनमत र नागरिक उन्मुक्ती पार्टीका सांसदले मत दिएका थिए । राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले भने दाहालको विपक्षमा मत दिएका थिए । नेपाल राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र मजदुर किसान पार्टीबाट प्रेम सुवाल सांसद हुनुहुन्छ ।

प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पार्टीभित्रै असन्तुष्टि हुँदा हुँदै पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको थियो । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरु अर्जुननरसिंह केसी, प्रकाशमान सिंह र प्रदीप पौडेलले विश्वासको मत दिन नहुने भन्दै फरक मत राखेका थिए । उनीहरुले प्रतिनिधि सभाको बैठक बस्नु अघि मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा पार्टी प्रतिपक्षकै भूमिकामा हुनु पर्ने बताएका थिए । तर बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको थियो । त्यसप्रति महामन्त्रीद्वय र कांग्रेसका नेताहरुले असन्तुष्टि जनाएका हुन् । कार्य सम्पादन समितिपछि बसेको कांग्रेस संसदीय दलको बैठकले दाहाललाई विश्वासको मत दिने निर्णय गरेको थियो ।

दाहाल १० पुसमा १६९ सांसदको समर्थन सहित प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । त्यसबेला दाहाललाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति र तीन जना स्वतन्त्र सांसद गरी १६९ सांसदले समर्थन गरेका थिए । दाहाल ७ दलीय गठबन्धनको प्रधानमन्त्रीको रुपमा नियुक्त हुनुभएको थियो । प्रतिनिधि सभामा कसैको एकल बहुमत नभएकाले दाहालको नेतृत्वमा गठबन्धन सरकार बनेको हो । गठबन्धन सरकारले १ महिनाभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनु पर्ने संवैधानिक प्रावधान छ ।

दाहाललाई विश्वासको मतका लागि माघ १० सम्मको समय भएपनि उहाँले आजै प्रतिनिधिसभाबाट विश्वासको मत लिनु भएको हो । प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरेर सांसदहरुको संख्या २७५ रहेको छ । सरकार बनाउनका लागि १३९ सांसदको समर्थन चाहिन्छ । संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त हुनुभएका दाहालले मंगलबार संविधानको धारा ७६ (४) वमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिनुभएको हो । मंगलबारको मतदानमा २७० जना सांसद उपस्थित भएका थिए ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal