काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई राष्ट्रिय सहमति जुटेको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रचण्डलाई नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीले विश्वासको मत दिएसँगै प्रचण्ड नेतृत्वको सरकारलाई राष्ट्रिय सहमति जुटेको हो ।
दलगत हिसाबमा प्रचण्डलाई २७२ सांसदको समर्थन जुटेको छ । काँग्रेस र एकीकृत समाजवादीले विश्वासको मत दिएपनि सरकारमा भने सहभागी नहुने निर्णय गरेका छन् ।
मङ्गलवार दिउँसो १ बजे बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रचण्डले संविधानको धारा ७६ को उपधारा २ अनुसार आफूलाई विश्वास गरेर प्रधानमन्त्री बनाएकोमा धन्यवाद समेत दिएका छन् । उनले निषेध, अपमान र प्रतिशोध नभई सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अघि बढाउन प्रतिबद्ध रहेको बताएका छन् । प्रचण्डले देशमा भएका परिवर्तनहरुमा लोकतान्त्रिक र वामपन्थी शक्तिको भूमिका रहेको बताए ।
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले भने–‘१०४ वर्ष लामो राणा शासन होस वा ३० वर्ष लामो पञ्चायती निरङ्कुशता बाम लोकतान्त्रिक सहकार्यबाट नै समाप्त भएको हो । १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता सङ्घीय लोकतान्त्रिक गणतन्त्र आउनु हामीबीचको सहकार्यकै परिणाम हुन । राष्ट्रिय संकटका संवेदनशील क्षणहरुमा पनि हामी राजनीतिक शक्तिहरु एकै ठाउँमा उभिँदै आएका छौँ । हामी मिल्दा देश अगाडि गएको छ, नमिल्दा देश सङ्कटतिर गएको छ ।’