काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने भएका छन् । संवैधानिक व्यवस्था अनुसार आज प्रधानमन्त्रीले विश्वसकाे मत लिन लागेका हुन् ।
पुस १० गते प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए । चुनावमा बनेको वाम लोकतान्त्रिक गठबन्धन टुटेर नयाँ समिकरण भएपछि प्रचण्डले १६९ सांसदको समर्थनसहित दाबी पेश गरेपछि राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
प्रचण्डलाई नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्तिसहित स्वतन्त्र सांसदहरुले समर्थन गरेका थिए ।
नेकपा एकीकृत समाजवादी, नेपाली काँग्रेस र तराई मधेस लोकतान्त्रिक पार्टी बाहेक सबै दलले प्रचण्डलाई समर्थन गरेका थिए । प्रधानमन्त्री प्रचण्डले काँग्रेस र एकीकृत समाजवादीसँग पनि विश्वासको मत मागेका छन् ।
सोमबार साँझ काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर विश्वासको मत मागेका थिए । देउवाले आफू सकारात्मक भएको र पार्टीमा छलफल गरेर जवाफ दिने बताएका थिए ।
देउवाले विहान ८ बजे पदाधिकारी र ९ बजे संसदीय दलको बैठक बोलाएका छन् ।
काँग्रेसले विश्वासको मत नदिएपनि एकीकृत समाजवादी निर्णय गर्न सक्ने बताइएको छ । एमाले अध्यक्ष ओलीले प्रचण्डको पक्षमा १८० सांसद पुग्ने दाबी गरेका छन् ।
आज विहान ११ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ ।