
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले वाम एकताको लागि गठन गरेको कार्यदलले काम सुरु गरेको । उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराको संयोजकत्वमा गठन भएको कार्यदलले आजबाट काम थालेको हो ।
कार्यदलले बाबुराम भट्टराईको पार्टीसँगको एकतालाई प्रक्रिया लैजानेबारे पनि छलफल गरेको छ । त्यस्तै, वामपन्थी पृष्ठभूमिका प्रभु साहसहितका स्वतन्त्र सांसदहरुसँग प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत मागेको छ । उसले विश्वसको मतसँगै सबै वामपन्थीहरु एक ठाउँमा आउनु पर्ने आवश्यकता रहेको समेत बताउँदै छलफल सुरु गरेको छ ।
कार्यदलले नेकपा एकीकृत समाजवादीका नेताहरुसँग पनि प्रारम्भिक छलफल गरेको छ । एकीकृत समाजवादीले सरकारलाई विश्वासको मत दिने वा नदिने भन्ने निर्णय गर्न सकेको छैन । हालै सम्पन्न एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले पनि वामपन्थी एकताको पहल गर्ने निर्णय गरेको थियो ।
यसअघि पार्टी एकताको लागि भन्दै जसपाले पनि वार्ता टोली गठन गरेको थियो ।
शनिबार बसेको माओवादी केन्द्रको आज बसेको केन्द्रीय कार्यालयको बैठकले गठन गरेको कार्यदलमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र शक्तिबहादुर बस्नेत रहेको पाँच सदस्यीय कार्यदल गठन गरेको थियो ।
कार्यदलका संयोजक तथा पार्टी प्रवक्ता महराले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत दिन सबै दल तथा स्वतन्त्र सांसदलाई पार्टीका तर्फबाट आह्वान गर्ने निर्णय गरेको महराले जानकारी दिए ।