
काठमाडौँ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने नेपाली नागरिक नभएको बताएका छन् । लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतमा भइरहेको सुनुवाईमा बहस गर्दै भण्डारीले नेपाली नागरिक नभएकोले गृहमन्त्रीमा रहिरहन नमिल्ने दाबी गरे ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा लामिछानेको नागरिकता विवादमा सुनुवाइ भइरहेको छ । बहस जारी छ ।
भण्डारीले अमेरिकाको नागरिकता लिएपछि लामिछाने नेपाली नागरिक नहुने र नागरिकता सम्बन्धी ऐन २०६३ को दफा १० (१) को अनुसार लामिछानले २०५० सालमा लिएको नागरिकता दुरुपयोग गरेको जिकिर गरे ।
निर्वाचन आयोगमा लामिछानेले पुनः नागरिकता नलिएको कुरा स्वीकारेको उल्लेख गर्दै भण्डारीले ऐनको दफा ११ को प्रक्रियामा नजाने छुट कसैलाई नभएको भण्डारीले ठोकुवा गरे । नेपाली नागरिकता नलिइकन शासन सत्तामा जान नपाइने भण्डारीको दाबी छ ।