काठमाडौँ । प्रदेश १ को मुख्यमन्त्रीको लागि दाबी पेश गर्न समय यही पुस २४ गते बेलुकी ५ बजेसम्मको समय सीमा तोकिएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार नयाँ सरकारको लागि दाबी पेश गर्न आह्वान गरेका हुन् ।
प्रदेश प्रमुख कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संविधानको धारा १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्री नियुक्तका लागि प्रदेशसभामा कुनै दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पुर्याएर मुख्यमन्त्री नियुक्तीका लागि दाबी पेश गर्न आह्वान गर्नु भएको छ ।’
कुल प्रदेसभा सदस्यको संख्या ९३ रहेको यस प्रदेशमा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एक जना सांसद छन् । सरकार गठनका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ ।
नयाँ सरकारको लागि आवश्यक संख्या एमाले र माओवादीको पुग्छ तर केन्द्रमा सरकारमा सहभागी सबै दलहरुले पनि प्रदेश सरकारमा जान खोजिरहेका छन् । एमाले र माओवादीले मुख्यमन्त्रीको दाबी गरिरहेका छन् ।
राप्रपा र जसपाले प्रदेश सरकारमा उपुक्त स्थान खाेजिरहेका छन् भने एकीकृत समाजवादीले निर्णय भने गरिसकेकाे छैन ।