
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ ग्रहण आज हुने भएको छ । राष्ट्रपति कार्यालयका अनुसार आज दिउँसो ४ बजे शपथ ग्रहण कार्यक्रम तय भएको छ ।
आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
प्रतिनिधि सभा चुनावमा कुनै पनि एक दलको बहुमत नआएकाले राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को २ अनुसार मिलीजुली सरकार बनाउन हिजो बेलुकी ५ बजेसम्मको समय दिएकी थिइन् । राष्ट्रपतिले दिएको समयभित्र प्रचण्डले १ सय ६९ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।
प्रचण्डलाई माओवादी केन्द्रसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी नेपाल (जसपा), जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टी तथा स्वतन्त्र सांसदहरु प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहको समर्थन छ । २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा सरकार गठनका लागि १ सय ३८ सांसद आवश्यक पर्नेमा प्रचण्डलाई १ सय ६९ सांसदको समर्थन रहेको छ ।
नेपाली कांग्रेसले पूर्वसहमति कार्यान्यवन नगरी दम्भ देखाएका कारण नयाँ समिकरण बनाउनु परेको नवनियुक्त प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।