
काठमाडौं । राष्ट्रपति कार्यालयले नयाँ प्रधानमन्त्रीमा प्रचण्डलाई नियुक्त गरेको छ । राष्ट्रपतिले दिएको समय सीमा भित्रै बहुमत सांसदको समर्थनसहित दाबी पेश गरेका प्रचण्डलाई आजै नियुक्त गर्ने तयारी भइरहेको छ ।
नेपाली काँग्रेससँगको गठबन्धन टुटेसँगै नयाँ समिकरणपछि प्रचण्डलाई प्रधानमन्त्रीको लागि बहुमत जुटेको हो । नेकपा एमालेसहित सात पार्टीको समर्थनमा दाबी पेश गरेका प्रचण्डलाई प्रधानमन्त्रीको शपथ भोलि खुवाउने तयारी भएको छ ।
राष्ट्रपति कार्यालयका अनुसार प्रचण्डलाई भोलि ४ बजे प्रधानमन्त्रीको शपथ खुवाउने कार्यक्रम तय भएको छ ।
नयाँ प्रधानमन्त्रीको लागि प्रचण्डलाई १७० सांसदको समर्थन जुटेको छ । अब नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी बाहेक सबै दलले समर्थन गरेका छन् ।
नेकपा एमाले केपी शर्मा ओली निवास बालकोटमा भएको नयाँ सहमतिपछि शिर्ष नेताहरुसहित प्रचण्ड शितल निवास पुगेका थिए ।
दाबी पत्रमा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यायदव, जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
स्वतन्त्र सांसद प्रभु शाह, अमरेश कुमार सिंह र किरणकुमार साह शीतलनिवासमा पुगेर प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन जनाएका थिए ।
संसदमा एमालेको ७८, माओवादीको ३२, रास्वपाको २०, राप्रपाको १४, जनमतको ६, नागरिक उन्मुक्ति पार्टीको ४ र जसपाको १२ सांसद रहेका छन् ।