
काठमाडौं । नयाँ सरकार गठनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सीमा आज सकिँदैछ । नयाँ सरकार गठनका प्रधानमन्त्रीको दाबी पेश गर्न राष्ट्रपति एक हप्ताको लागि दिएको समय आज ५ बजे सकिन लागेको छ । राष्ट्रपति भण्डारीले ३ गते दलहरूलाई प्रधानमन्त्रीमा दाबी पेस गर्न समयसीमा दिएकी थिइन् ।
नयाँ प्रधानमन्त्री को बन्ने भन्ने पाँच दलीय गठबन्धनमा सहमति जुट्न सकेको छैन । नेपाली काँग्रेसले चुनाव पूर्व गरेको सहमति तोडेपछि प्रधानमन्त्रीलगायत शक्ति बाँडफाँडमा सहमति जुट्न नसकेको हो । चुनावअघि काँग्रेसले पहिलो चरणमा नेकपा माओवादीबाट प्रधानमन्त्री बनाउन सहमति जनाएको थियो ।
तर, अहिले काँग्रेस प्रधानमन्त्री र राष्ट्रपति दुबै छोड्न नमानेपछि शनिबारसम्मको छलफल निष्कर्षमा पुग्न सकेका छैनन् । शनिबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा काँग्रेसले पुरानै अडान नछोडेपछि विना निष्कर्ष सकिएको थियो । आज विहान फेरि जुट्ने भन्दै नेताहरु छुटिएका थिए ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता गठबन्धनका पाँच दलका शीर्ष नेताहरूबीच सहमतिको खाका निर्माण गर्ने गरी छलफल भइरहेको बताउँछन् ।
धारा ७६ को उपधारा १ बमोजिम प्रधानमन्त्री नियुक्ति गर्न कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएपछि धारा ७६ को २ बमोजिम राष्ट्रपतिले दाबी पेश गर्न आह्वान गरेकी थिइन् । २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा बहुमत पुर्याउन १ सय ३८ सिट चाहिन्छ ।