
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नयाँ सरकारको नेतृत्व प्रचण्डले गर्दा स्वाभाविक हुने बताएका छन् । विहीबार साँझ बालुवाटारमा भएको शिर्ष नेताहरुको छलफलमा नेपालले नयाँ सरकारको नेतृत्व प्रचण्डलाई दिएर गठबन्धन कायम राख्नुपर्ने धारणा राखेका थिए ।
स्रोतका अनुसार अध्यक्ष नेपालले प्रतिगनविरुद्धको लडाइँ जारी रहेको बताउँदै पहिला नेपाली काँग्रेसले नेतृत्व गरिसकेकोले अब माओवादीको पालो आएको समेत बताए । “प्रतिगनविरुद्धमा हामी एक भएका हौं, त्यो लडाइँमा देउवाजीले सरकारको नेतृत्व गरिसक्नुभएको छ, अब प्रचण्डजीको पालो” नेपालको भनाई उदृत गर्दै स्रोतले भन्यो । विहीबार दिउँसो शथप लिन अस्पतालको शैयाबाट आएका नेपाल राजनीतिक छलफलमा सहभागी भएका छन् ।
बालुवाटारमा भएको छलफल प्रारम्भिक भएको बताएका गठबन्धन दलका शिर्ष नेताहरु आज पनि जुट्दै छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि पार्टीभित्र आफू निकट नेताहरुसँग छलफल सुरु गरेको बताइएको छ ।
गठबन्धनका दोस्रो तहका नेताहरुले शक्ति बाँडफाँडको खाका समेत तयार पारेको एक नेता बताउँछन् । राष्ट्रपति, प्रधानमन्त्री, सभामुखलाई मुख्य शक्ति बन्दै तयार गरिएको खाकामा उपाराष्ट्रपति, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र प्रदेश सरकार पनि प्रस्तावमा समेटिएको बताइएको छ । प्रधानमन्त्री पाउने दलले राष्ट्रपति अर्को दललाई दिन तयार हुनुपर्ने, सभामुख पाउने दलले राष्ट्रिसभा अध्यक्ष दाबी गर्न नपाउने गरी प्रस्तावको पहिलो खाका तयार गरिएको छ ।
पहिलो दल नेपाली काँग्रेस भएकोले प्रधानमन्त्री वा राष्ट्रपति रोजेर लिन पाउनेबारे पनि नेताहरुबीच छलफल भएको छ । तर, माओवादी र एकीकृत समाजवादीका नेताहरुले काँग्रेसले सरकारको नेतृत्व गरिसकेकोले माओवादीले प्रधानमन्त्री पाउनु पर्ने दाबीलाई प्रस्तावमा पनि पेश गरेका छन् ।
काँग्रेसले प्रधानमन्त्री छोड्न नमाने राष्ट्रपति माओवादीबाट र सभामुख वा राष्ट्रिसभा अध्यक्ष एकीकृत समाजवादीले पाउने गरी छलफल भएको एक नेताले बताए ।