
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता चयन गर्दैछ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण लगत्तै माओवादीले दलको नेता चुन्न लागेको हो ।
दलको नेता चयनको लागि माओवादी केन्द्रले आज दिउँसो ४ बजे संसदीय बैठक बोलाएको छ । दलको नेतामा अरु कोही नेता आकांक्षा नराखेका कारण प्रचण्ड चयन हुने भएका हुन् ।
यसअघि नेपाली काँग्रेसले निर्वाचनमार्फत र नेकपा एमालेले पनि संसदीय दलको नेता चयन गरिसकेको छ । नेपाली काँग्रेसले पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई दलको नेता निर्वाचित गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि यही पुस १० गते बेलुका ५ बजेसम्म प्रधानमन्त्रीको दाबी पेस गर्न आह्वान गरेपछि दलहरुले दलको नेता चयनलगायतका काम व्यस्त रहेका छन् ।