
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा पुनः शेरबहादुर देउवा निर्वाचित भएका छन् । देउवाले महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै दलको नेतामा निर्वाचित भएका हुन् ।
पार्टी सभापति समेत रहेका देउवाले ६४ सांसदको मत पाएका छन् भने गगनले २५ मत पाएका छन् । शेखर–गगन समूहकै सांसदले थापालाई मत दिएनन् । मंगलबार विहान ३८ सांसदले थापालाई समर्थन जनाएपनि निर्वाचनमा भने मत दिएनन् ।
निर्वाचनमा काँग्रेसका सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा सांसद माया राईले अस्पतालबाटै भोट हालेकी छन् । उनी सुत्केरी भएर ओम अस्पतालमा भर्ना भएकी छन् । निर्वाचन समितिका प्रतिनिधिहरु अस्पतालमै पुगेर उनको मत संकलन गरेका थिए ।
गगन थापालाई नेता शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतले समर्थन गरेका थिए ।