
काठमाडौं । नेपाली काँग्रेस काभ्रेले अन्तरघात गरेको भन्दै दुई केन्द्रीय सदस्य र क्षेत्रिय सभापतिसहितका नेताहरुलाई कारवाहीको सिफारिस गरेको छ । शनिबार बसेको बैठकले आफ्नै पार्टीका उम्मेदवारलाई अन्तरघात गरेर नेकपा एमालेका नेता गोकुल बाँस्कोटालाई जिताएको भन्दै कारबाहीका लागि केन्द्रीय अनुशासन समितिमा सिफारिस गरेको हो ।
बैठकले पार्टीका कुनै पनि जिम्मेवारीमा नरहने गरी केन्द्रीय सदस्य मधुप्रसाद आचार्य, गणेश लामा र प्रतिनिधि सभा क्षेत्र नम्बर- २ का सभापति महेश खरेललाई कारबाही गर्ने निर्णय गरी सिफारिस गरेको छ ।
नेपाली कांंग्रेस काभ्रेका अनुसार निर्वाचनमा पार्टीको तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर-२ मा प्रत्यक्षतर्फ उम्मेदवार रहेका पार्टीका पूर्व केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँ र जिल्ला सभापति तीर्थ लामालाई अन्तर्घात गरी असहयोग गरेको तथा केन्द्रीय सदस्य द्वय आचार्य र लामा निर्वाचन प्रचार अभियानमा साथ नदिएको र विपक्षी उम्मेदवारलाई मत मागेको भन्दै कारबाहीको लागि केन्द्रमा बैठकले सिफारिस गरेको छ ।
केन्द्रीय सदस्य आचार्यले नेकपा एमालेका नेता गोकुल बाँस्कोटा जिताउने लागेको उनीहरुमाथि आरोप लागेको छ । आफ्नो पार्टीका उम्मेदवारलाई मत माग्न छोडेर भित्रभित्रै बाँस्कोटालाई जिताउन लागेको काँग्रेस काभ्रेको आरोप लगाएको छ ।
पार्टीकाे प्रचारमा नगएर काँग्रेसका स्थानीय कार्यकर्ता, वडा सभापति र वडा अध्यक्षहरूको बैठक नै बोलाएर बाँस्कोटालाई मतदान गर्न दबाब दिएको र अन्य किसिमका प्रलोभन बाँडेको आरोप सहित कांग्रेस काभ्रेको वडा कार्यसमिति, गाउँ तथा नगर कार्यसमिति, क्षेत्रीय समिति मार्फत जिल्ला अनुशासन समितिमा समेत उजुरी परेको थियो ।
यता केन्द्रीय सदस्य लामाले निर्वाचन अभियानमा उपस्थित नभएको, आफू निकटका कार्यकर्तालाई सूर्य चिन्हमा मतदान गर्न र नसके हलोमा मत माग्न लगाएको, सार्वजनिक रूपमा एमाले उम्मेदवार चन्द्र लामालाई जिताउनु आह्वान गर्दै पार्टी सभापति तीर्थ लामा विरुद्ध लागेको आरोपसहित उजुरी परेको थियो ।