
काठमाडौं । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशले आफ्नो नेतृत्वमा सरकार निर्णय गरेसँगै नयाँ बहस सिर्जना भएको छ । बिहीबार सम्पन्न प्रदेश कमिटीको बैठकले कर्णालीमा आफ्नै नेतृत्वको सरकार गठन निर्णय गर्दै त्यसको लागि पहल गर्न केन्द्रीय नेतृत्वलाई आग्रह गरेको छ ।
प्रदेश अध्यक्ष विमला केसीले कर्णाली प्रदेशमा सरकारको पार्टीले नेतृत्व पाउने गरी गठबन्धनमा सिट बाँडफाँट गर्न केन्द्रीय नेतृत्वलाई आग्रह गर्ने निर्णय गरेको बताइन् । बैठकले २०७४ सालको निर्वाचनको तुलनामा कर्णालीमा समानुपातिक मत वृद्धि भएको निष्कर्ष समेत बैठकले निकालेको केसीले बताइन् ।
माओवादीको यो निर्णयसँगै कर्णाली प्रदेशमा नयाँ तरंग पैदा भएको छ । आफ्नै नेतृत्वको निरन्तरता हुने पर्ने बताउँदै आएको काँग्रेसले पनि छलफल थालेको छ । त्यस्तै सरकारमा आफूलाई पनि सरकारमा लैजान नेकपा एमाले लगायतका पार्टीले पनि छलफल थालेको छ ।
बैठकले अघिल्लो निर्वाचनको तुलनामा अहिले उपस्थित बलियो बनेको पनि निष्कर्ष निकालेको छ । कर्णाली प्रदेशमा माओवादीले प्रतिनिधिसभामा ५ मध्ये ४ सिट र प्रदेशसभामा १० मध्ये ९ जमा जित हासिल गरेको छ ।
यस्ता छन् निर्णय
१. प्रदेश सरकार निर्माणको सन्दर्भमा हालै सम्पन्न निर्वाचनको परिणाम अनुसार तुलनात्मक रुपले कर्णाली प्रदेश सभामा हाम्रो पार्टीको उपस्थिति बलियो रहेको गठबन्धनको निर्णय अनुसार प्रतिनिधि सभामा हामीले पाएको ५ सिट मध्ये सिद्ध ४ र प्रदेशसभामा पाएको १० सिट मध्ये ९ सिटमा हाम्रो पार्टीका उम्मेदवार विजयी भएको २०७४ सालको निर्वाचनको तुलनामा कर्णाली प्रदेशमा पार्टीको समानुपातिक मत पनि वृद्धि भएको अवस्थामा यस प्रदेशमा हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन गर्नुपर्ने ।
२. संघीय सरकार निर्माणको सन्दर्भमा पहिलो कार्यकाल हाम्रो पार्टीको नेतृत्वमा सरकार गठनको लागि अधिकतम पहल गर्नुपर्ने ।
३. पार्टी निर्माणको सन्दर्भमा यथाशीघ्र विशेष महाधिवेशन आयोजना गरी विचार संश्लेषण र समाजवादी कान्तिको ठोस कार्यक्रम तय गर्नुपर्ने, वैचारिक राजनैतिक तथा पार्टी पुनर्गठनको अभियान संचालन गर्नुपर्ने पार्टी तथा जनसंगठनका सबै तहका कमिटीको आकार घटाएर साना र चुस्त कमिटी बनाउनुपर्ने, नेतृत्व चयन र कमिटी निर्माण गर्दा निर्वाचन प्रणालीको अभ्यासलाई निरुत्साहित गर्न नहुने । पार्टीको विधानलाई कडाइका साथ पालना गर्नुपर्ने ।
४. कम्तिमा माओवादी धाराका कम्युनिष्ट पार्टीहरुबिच पार्टी एकताको लागि सार्थक पहल गर्नुपर्ने केपी ओली प्रवृत्ति बाहेकका अन्य कम्युनिष्ट पार्टीहरु विच पनि पार्टी एकताको पहल गर्नुपर्ने । ५. हालैको निर्वाचनमा यस प्रदेशको दैलेख जिल्ला जनप्रतिनिधि विहीन भएकोले कुनै न कुनै हिसाबले सम्बोधन गर्नुपर्ने ।
६. संघ, प्रदेश र स्थानीय स्तरमा हाम्रो पार्टीको सत्ता संचालन निर्देशक समिति गठन गरी परिचालन गर्नुपर्ने ।
७. यही गठबन्धनलाई निरन्तरता दिनुपर्ने, गठबन्धन सरकार बन्ने अवस्थामा संघ, प्रदेश र स्थानीय तहमा सत्ता संचालनको लागि गठबन्धन दलका प्रतिनिधि सम्मिलित राजनैतिक संयन्त्र बनाउनुपर्ने।