
काठमाडौं । निर्वाचन आयोगले आज प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउने भएको छ । आज दिउँसो प्रतिनिवेदन राष्ट्रपतिलाई बुझाएसँगै दलहरु सरकार गठनमा जुट्ने भएका छन् ।
आयोगले प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन पुस २ गते प्रदेश प्रमुखहरूलाई बुझाइने तयारी गरेको छ । आयोगले बुधबार पत्रकार सम्मेलन गरेर निर्वाचनको अन्तिम परिणाम औपचारिक रुपमा सार्वजनिक गरेको थियो । आयोगले प्रतिवेदन राष्ट्रपतिका साथै संघीय संसद सचिवालयलाई नव निर्वाचित सांसदहरुको विवरण पठाउने व्यवस्था छ ।
आयोगले अन्तिम परिणाम सार्वजनिक गरेसँगै राजनीतिक दलका नेताहरु सरकार गठनको लागि दौडधुपमा जुटेका छन् । अब राष्ट्रपतिले भण्डारीले संसद बैठक आह्वान गर्नेछन् । त्यसको लागि सरकारले प्रतिनिधिसभा बैठक आह्वानको लागि मिति तोक्दै राष्ट्रपतिलाई सिफारिस गर्नुपर्ने प्रावधान छ ।
प्रतिनिधिसभाको पहिलो बैठकमा नव निर्वाचित सांसद मध्येबाट सबैभन्दा धेरै उमेर रहेका जेष्ठ सदस्यले राष्ट्रपतिसँग सपथ लिएर प्रतिनिधिसभाका सम्पूर्ण सदस्यहरूलाई सपथ गराउँछन् । संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूले संसदीय दलको नेता चयन गर्नुपर्ने हुन्छ । त्यसपछि सरकार निर्माणको प्रक्रिया औपचारिक रुपमा अघि बढ्नेछ ।
संघीय संसदमा सांसदहरुले सपथ ग्रहण गरेको ३५ दिनभित्र दलहरूले बहुमत जुटाएर सरकार गठन सम्पन्न गर्नुपर्ने प्रावधान छ ।
सरकार बनाउँदा संविधानको धारा ७६ को उपधारा १ मा रहेको प्रावधान अनुसार सरकार बन्नसक्ने अवस्था नभएकोले धारा ७६ को उपधारा २ मा रहेको प्रावधान अनुसार संयुक्त सरकार बनाउन सुरु हुनेछ ।