काठमाडौं। अनेरास्ववियुले सरकारले ल्याएको अध्यादेश विरुद्ध सडक संघर्ष सुरु गरेको छ । सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ लाई संशोधन गर्न अध्यादेश ल्याएर अपराधलाई राजनीतिकरण गर्न खोजेको भन्दै विरोध जनाएको छ ।
सरकारले कारागारमा रहेका राजनीतिक दल तथा समूहमा आवद्ध नेता कार्यकर्तालाई छुटाउन आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याउन निर्णय गरेको थियो । उक्त अध्यादेश सोमबार नै सरकारले राष्ट्रपति समक्ष पेश गरिसकेको छ । तर, अहिलेसम्म राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी छैनन् ।
एमाले निकट अनेरास्ववियुले व्यक्ति हत्या अभियोगमा आजीवन कैद सजाय भुक्तान गरिरहेका रेशम चौधरीसहितलाई उन्मुक्ति दिन अध्यादेश ल्याउन लागेको भन्दै विरोध जनाएको छ । अनेरास्ववियुले अध्यादेश फिर्ता लिन माग गर्दै मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ । उसले राजनीतिमा अपराधिकरण र अपराधको राजनीतीकरण गर्न बन्द गर्नुपर्ने माग समेत गरेको छ ।
मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ लाई संशोधनका लागि सरकारले सोमबार राष्ट्रपतिसमक्ष अध्यादेश पठाएको छ। यसको भोलिपल्ट मंगलबार बिहान अनेरास्ववियुले त्रिचन्द्र कलेज अगाडि प्लेकार्डसहित नाराबाजी गर्दै प्रदर्शनमा विरोध प्रदर्शनमा उत्रिएको हो।


अनलाइन डबली




