काठमाडौं । निर्वाचन आयोगले दलहरुलाई समानुपातिक सांसदको सूची आजसम्म सच्चाउन सक्ने बताएको छ । आयोगले यसअघि पेश गरेको नामावली सच्चाउन चाहने राजनीतिक दलहरुको लागि आज दिउँसो ४ बजेसम्मको समय दिएको छ ।
दलहरुले आफूले पाएको समानुपातिक मतका आधारमा प्रतिनिधि सभाका लागि १ सय १० जना र ७ वटै प्रदेश सभाका लागि २ सय २० जनाको नाम सिफारिस गरेका छन् । सबै पार्टीले लामो छलफल गरेर आयोगमा नाम पेश गरेका भएपनि अन्तिम पटक सच्चाउन चाहेमा आजसम्म त्यो समय आयोगले दिएको हो ।
निर्वाचन आयोगले दलहरुले पाएको समानुपातिक मतका आधारमा सिट बाँडफाँड गरेको थियो । प्रतिनिधिसभामा नेकपा एमालेले ३४, नेपाली कांग्रेसले ३२, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५/५ सिट समानुपातिकतर्फ प्राप्त गरेका थिए ।
आज दलहरुलाई दिइएको नामवाली सच्चाउन समयपछि आयोगले नामावली जाँचबुझ गरेर समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गर्ने तयारी गर्नेछ । आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार जाँचबुझ सकिएपछि आयोगले समानुपातिक सांसद निर्वाचित भएको घोषणा गर्नेछ ।
अबको एक हप्ताभित्र आयोगले मंसिर ४ गते भएको चुनाव सम्बन्धी सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाउने तयारी गरेको छ।