काठमाडौं । नकपा एमालेले पार्टीका स्थायी समिति सदस्य घनश्याम भुसाल र प्रभु साहसहित १४ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ । एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसब्बा गुरुङले पार्टीको अनुशासन उल्लङ्घन गरेकोले उनीहरुलाई कारवाही गरेको जानकारी दिए ।
आज बसेको बैठकपछि भुसाल र साहसहित केन्द्रीय सदस्यहरूमा रौतहटका उपेन्द्र शाह र कुन्दन कुसवाह, सिराहाका रामप्रित राम तथा सर्लाहीका बद्री न्यौपाने र रिता साह निष्कासित भएका छन् । यसैगरी, दाङकी गंगा चौधरी र टेकबहादुर बलम्पाखीलाई पनि निष्कासन गरिएको छ ।
एमालेले अर्थ तथा योजना विभागका सचिव योगेन्द्र शाही पनि निष्कासन गरेको छ । यस्तै पार्टीका सल्लाहकार ताप्लेजुङका वाङ्दे शेर्पा, कञ्चनपुरका खेम सुबेदी र भक्तबहादुर अधिकारी तथा कैलालीका लक्ष्मी साह पनि बर्खास्त भएका छन् ।
पार्टीको समानुपातिक सूचीमा भएर पार्टी विरोधी गतिविधिमा रहेको भन्दै जैतुन खातुनलाई पनि कारबाही गरिएको प्रवक्ता गुरुङले जानकारी दिए ।


अनलाइन डबली



