
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र समानुपातिक सांसद चयनबारे देखिएको असन्तुष्टिबारे सभापति रवि लामिछानेले कोही आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्।
उनले विधि र पद्धतिअनुसार नै समानुपातिक सांसद चयन गरिने बताए।
चितवनको भरतपुर विमानस्थलमा आज पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै रविले भने, ‘मैले नै खबरदारी गर्नुहोला भनेको छु। कोही आत्तिनुपर्ने पनि छैन।’
राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक उम्मेदवार तय गर्न प्राइमरी इलेक्सन गरेको थियो। प्राइमरी इलेक्सनमा आएको मतका आधारमा समानुपातिकतर्फ उम्मेदवार बनाएर बन्दसूची पेश गरिएको थियो।
तर प्राइमरी इलेक्सनअनुसार तय गरिएको सूचीअनुसार सांसद चयन नगरी विधि र पद्धति मिच्न खोजेको भन्दै पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा आज खबरदारीसमेत भएको थियो।
रास्वपाले शनिबार केन्द्रीय समिति बैठक बस्ने र समानुपातिक सांसद चयन गरिने बताइरहेको छ। प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपाले समानुपातिकमा १३ सिट जितेको छ। रास्वपाले समावेशी सिद्धान्तअनुसार सांसद चयन गर्नुपर्छ।