
काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ प्रतिनिधि सभा र प्रदेश सभा दुवैतर्फ दलहरूले पाएको सिट बाँडफाँडको टुंगो लगाएको छ । निर्वाचन आयोगले बुधबार सिट बाँडफाँडको सङ्ख्या सार्वजनिक गरेको हो ।
आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा दुबैमा गरी नेकपा एमाले सबैभन्दा धेरै सिट पाएको छ । एमालेले प्रतिनिधि सभामा ३४ सिट पाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा गरी एमालेले १०४ सिट प्राप्त गर्दै पहिलो दल बनेको छ । दोस्रो नम्बरमा नेपाली कांग्रेस हुन पुगेको छ ।
काँग्रेसले प्रतिनिधिसभामा ३२ सिट पाएको छ । यस्तै नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले सात, जनता समाजवादी पार्टी जसपा र जनमत पार्टीले पाँच/पाँच सिट पाएका छन् । प्रतिनिधि सभामा समानुपातिकतर्फ एक सय १० सिट हुन्छ ।
प्रदेशसभामा पनि यस्तै प्रदेश सभामा एमालेले सातै प्रदेशमा गरी ७० सिट जितेको छ । यस्तै कांग्रेसले ६४, माओवादीले २९, राप्रपाले १७ तथा एकीकृत समाजवादी, जसपा र जनमतले नाै/नाै सिट पाएका छन् ।
यस्तै नागरिक उन्मुक्ति पार्टीले पाँच, लोकतान्त्रिक समाजवादीले तीन, नेपाल मजदुर किसान पार्टीले दुई तथा नेपाल सङ्घीय समाजवादी, राष्ट्रिय जनमोर्चा र हाम्रो नेपाली पार्टीले एक/एक सिट पाएका छन् । प्रदेश सभातर्फ सात वटै प्रदेशमा गरी समानुपातिकतर्फ दुई सय २० सिट हुन्छ ।
सिट बाँडफाँडको अन्तिम सूची निर्वाचन आयोगले दलहरुलाई पठाएको छ ।