
काठमाडौं । पाँच दलीय गठबन्धनले एकतावद्ध भएर अघि बढ्ने निर्णय गरेको छ । सोमबार बसेको गठबन्धनको बैठकपछि संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरेर सम्पन्न आम निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिलेर अघि बढ्नु पर्ने स्पष्ट सन्देश दिएको जनाएको छ।
निर्वाचनको दौरानमा गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दागर्दै पनि कतिपय निर्वाचन क्षेत्रमा केही असहयोग र असमझदारीका घटना देखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । निर्वाचनका दौरानमा देखिएका ती असमझदारीहरूको आगामी दिनमा उचित समीक्षा र सम्बोधन गरिने भन्दै विज्ञप्तिमा गठबन्धनप्रति आम मतदाताले दर्साएको विश्वास र मायाप्रति आभार प्रकट गरिएको छ ।
मुलुकका सामु विद्यमान चुनौतीहरुको सामाना गर्नु पर्ने अवश्यकताले यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । आम मतदाताको भरोसा र भावनालाई कदर गर्दै आगामी दिनमा थप एकताबद्ध भएर अघि बढ्ने प्रतिवद्धता गठबन्धनले गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
संयुक्त विज्ञप्तिमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलको हस्ताक्षर गरेका छन् ।
गठबन्धनलाई निरन्तरता दिने निर्णयसँगै नेकपा एमाले संघ र सातवटै प्रदेशमा सरकारबाट बाहिर बस्न बाध्य हुनेछ । प्रत्यक्षतर्फको अन्तिम मत परिणाम आइसकेको छ भने केही दिनमै समानुपातिकको अन्तिम मत परिणाम पनि आउने निर्वाचन आयोगले जनाएको छ ।
प्रत्यक्ष र समानुपातिकको मतका आधारलाई हेर्दा संघ र सातवटै प्रदेशमा गठबन्धनको सरकार बन्ने देखिएको छ । प्रत्यक्षतर्फ कांग्रेसले ५७, एमालेले ४४, माओवादीले १८, नेकपा एसले १०, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपाले ७/७, लोसपाले ४, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेमकिपाले १/१ तथा स्वतन्त्रले ५ सीट जितेका छन् ।
समानुपातिकतर्फको मतलाई हेर्दा गठबन्धनलाई १३६ संख्या पुग्ने देखिएको छ । जबकी सरकार बनाउन १३८ संख्या आवश्यक पर्छ । गठबन्धनको सहयोगमा चुनाव जितेका प्रभु साह र एक जना थप गरे सरकार गठनको लागि आवश्यक संख्या पुग्छ ।