
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
कार्कीले निकटतम् प्रतिस्पर्धी एमालेका जगदिश प्रसाद कुसियैतलाई ११२ मतको अन्तरले पराजित गरेका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको अन्तिम मत परिणाम अनुसार मन्त्री कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्दा कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरेका छन् ।
नेपाल सरकारका प्रवक्तासमेत रहेका कर्कीले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका छन् । कार्की २०७४ सालमा पनि सोही निर्वाचन क्षेत्रबाट विजयी बनेका थिए ।
नेपाल सरकारका अर्थमन्त्री समेत भइसकेका कार्की विद्यार्थी अवस्थादेखि नै राजनीतिमा सक्रिय थिए । उनी नेपाली काँग्रेसका केन्द्रीय सदस्य पनि हुन् ।
यस्तै स्याङ्जा क्षेत्र नम्बर २ मा जारी मतगणनामा प्रत्यक्षतर्फ कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता बढाउँदै लगेका छन् ।
पछिल्लो मतपरिणामअनुसार गुरुङले ४५९० मत प्राप्त गर्दा एमालेकी सचिव तथा उम्मेदवार पद्मा अर्यालले ३४५५ मत पाएकी छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १०२१ मत पाएका छन् ।
उता बाजुरा जिल्लामा हुने भनिएको मतगणना अझै अनिश्चित बनेको छ । दुई पटकको सर्वदलीय बैठकमा मतगणनाबारे सहमति जुट्न नसक्दा मतगणना अनिश्चित बनेको हो ।
निर्वाचन आयोगले रोकिएको मतगणना सुचारु गर्न बुधबार निर्देशन दिएको थियो। तर नेकपा एमालेले मतगणनामा सहमति नजनाउँदा अझै सुरु हुन नसकेको हो ।
आयोगको निर्णयसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बुधबार सर्वदलीय बैठक बलाएको थियो । बैठकमा नेकपा एमाले बाजुराले बिमति जनाएपछि पहिलो बैठक निष्कर्षविहीन बन्यो ।
आज बिहीबार बिहान ७ बजे पनि सर्वदलीय बैठक बोलाएको तर सबै दलको उपस्थिति नभएपछि बैठक ११ बजे बोलाएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए ।
नेकपा एमाले बाजुराले कांग्रेस कार्यकर्ताको कुटपिटबाट ज्यान गुमाएका विद्यार्थी चेतन अयडीका हत्यारालाई पक्राउ गर्नुपर्ने र अयडीको न्यायको लागि शान्तिपूर्ण आन्दोलनका बेला गिरफ्तार गरिएका युवाहरूलाई विना सर्त रिहाइ नहुँदासम्म बैठकमा सहभागी नहुने बताउँदै आएको छ ।