काठमाडौं उपत्यका विकास प्राधिकरणले खोलालगायतका जग्गा अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको छ ।
वागमती किनारामा बसेको सुकम्बासीलाई हटाउने क्रममा झडप भएको दुई दिनपछि बुधबार प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र अनधिकृत संरचना हटाउन आग्रह गरेको हो ।काठमाडौं उपत्यकाभित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्डबमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना ३५ दिनभित्र खाली गरी सोको जानकारी प्राधिकरणलाई गराउन आग्रह गरिएको छ ।
प्राधिकरणका विकास आयुक्त जानुका ढकालले ३५ दिनभित्र त्यस्ता संरचना खाली नगरे स्थानीय तहको सहयोगमा प्राधिकरणले खाली गराउने जानकारी दिँदै भन्नुभयो– ‘३५ दिनसम्म कब्जा गरेका जग्गाको तथ्याङ्क संकलन गर्नेछौं, त्यसबेलासम्म नहटे आफैं कारबाही गर्नेछौं ।’ प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ– ‘त्यसरी नहटाएमा उक्त अतिक्रमण गरी निर्माण गरिएका संरचना प्राधिकरणले हटाई सो हटाउँदा वा भत्काउँदा लागेको लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने व्यहोरासमेत जानकारी गराइन्छ ।’
उपत्यकाका नगरहरूको पुनर्निर्माण, विकास र विस्तारमार्फत काठमाडौं उपत्यकालाई व्यवस्थित गर्ने उद्देश्यका साथ उपत्यकामा योजनावद्ध भौतिक विकासका लागि काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ मा आधारभूत मापदण्ड तय गरिएको छ ।


अनलाइन डबली

