
काठमाडौं । विवादित बनेका दोलखाका १० वटा मतदान केन्द्रमा पुनः मतदान जारी रहेको छ । विहान ७ बाट सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्नेछ । बुथ कब्जा भएको भन्दै विवाद हुँदा स्थगित भएको मतदान आज पुनः सुरु भएकाे हो ।
जिल्लाका वैतेश्वर गाउँपालिका-६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’, वैतेश्वर गाउँपालिका-२ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र ‘क’ र ‘ख’ र तामाकोशी गाउँपालिका ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र ‘क’ र ‘ख’, वैतेश्वर गाउँपालिका-३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’ मा पुनः मतदान भइरहेको छ ।
यी मतदान केन्द्रमा कुल ८ हजार ५१४ मतदाता रहेका छन् । विवाद भएपछि आयोगको मंसिर ११ गतेको बैठकले यी क्षेत्रमा पुनः मतदानको निर्णय गरेको थियो ।
जिल्लामा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका नेता गंगा कार्की चुनावी मैदानमा छन् भने नेकपा एमालेको तर्फबाट बालकृष्ण शिवाकोटी उम्मेदवार रहेका छन् ।
त्यस्तै जनता समाजवादी पार्टी, नेपालकाे तर्फबाट दावा शेर्पा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विजय खड्का, नेपाल मजदुर किसान पार्टीबाट गोपालबहादुर शिवाकोटी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट गोपाल नेपाली चुनावी मैदानमा रहेका छन् । प्रतिस्पर्धा कार्की र शिवाकाेटीबीच हुने बताइएको छ ।