
काठमाडौं । नेकपा एमाले नेतृ पद्मा अर्यालले मतान्तर फराकिलो बनाउँलै लगेकी छन् । बुधबार राति ११ बजेबाट मतगणना सुरु भएपछि अर्यालले अग्रता लिएकी थिइन् । विहीबार विहान यो समाचार तयार पार्दासम्म अर्यालले अग्रता बढाउँदै लगेकी छन् ।
स्याङ्जा क्षेत्र नं. २ मा मतदान भएको १० दिनपछि मतगणना सुरु भएको हो । अर्यालले २ हजार ९०८ मत ल्याएर अग्रता लिएकी हुन् । नेपाली काङ्ग्रेसका धनराज गुरुङले १ हजार ८०६ मतसहित दोस्रो स्थानमा छन् ।
स्याङ्जा २ चापाकोटका ४ वटा बुथमा नेपाली कांग्रेसले एकलौटी कब्जा गरी फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पाटीले पुनः मतदानको माग गरेका थिए ।
ती ४ बुथमा अस्वाभाविक मत खसेको र प्रहरी प्रशासन पनि मूकदर्शक बनेको उनीहरूको आरोप थियो । अरु क्षेत्रमा औसतमा ६० प्रतिशत मत खसे पनि त्यहाँ ९८ प्रतिशतसम्म मत खसेको भन्दै एमाले उम्मेदवार पद्मा अर्याल र राष्ट्रिय स्वतन्त्र पाटीका टीकराज गुरुङले पुनः मतदानको मागपछि मत गणना रोकिएको थियो ।
निर्वाचन आयोगले पुनः मतदान नगरी मत गणना सुरु गर्ने निर्णय गरेको थियो । आयोगको निर्णयसँगै बुधबार रातिबाट मत गणना सुरु भएको थियो ।
यसैबीच संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की पनि पछि परेका छन् । नेकपा एमालेका जगदिशप्रसाद कुसियैतले झिनो मतले पछि फेरि कार्कीलाई पछि पारेका छन् । कुसियैतले २९ हजार ७९४ मत ल्याउँदै संचारमन्त्री कार्कीले २९ हजार ७१२ मत पाएका छन् । यो निर्वाचन क्षेत्रमा पनि कडा प्रतिस्पर्धा भइरहेको छ ।