
काठमाडौं । प्रतिनिधिसभातर्फ समानुपातिकको करिब एक करोड मत गणना भएको छ । निर्वाचन आयोगका अनुसार बुधबार विहानसम्म ९९ लाख ९३ हजार ५६८ मत गणना भएको छ । मत गणना अन्तिम चरणमा पुगेको छ । सुरुदेखि अग्रता लिएको नेकपा एमालेले करिब २७ लाख मतसहित पहिलो स्थान कायमै गरेको छ ।
आयोगका अनुसार एमालेले २६ लाख ९४ हजार १२४ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २५ लाख ४८ हजार ७७८ मतसहित दोस्रो स्थान कायम गरेको छ । त्यसैगरी नेकपा (माओवादी केन्द्र) ले ११ लाख ४३ हजार ५०३ मत पाएको छ । माओवादी तेस्रो स्थानमा रहेको छ ।
रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार १७१ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७० हजार १०२ मत पाएको छ । जनता समाजवादी पार्टी, नेपालले ३ लाख ८८ हजार ४८२ मत र जनमत पार्टी ३ लाख ४६ हजार ९७० मत ल्याएर राष्ट्रिय पार्टी बन्न सफल भएका छन् ।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २ लाख ८१ हजार ३४८ र नागरिक उन्मुक्ति पार्टीले २ लाख ४७ हजार ७०१ मत ल्याएका छन् ।