काठमाडौँ । बागमती किनारमा रहेको सार्वजनिक जग्गामा बसेका सुकुम्बासी बस्तिमाथि काठमाडौँ महानगरपालिकाले डोजर चलाएपछि अवस्था तनाबग्रस्त बनेको छ ।
महानगरले बस्तीमाथि डोजर चलाएपछि स्थानीयले कडा प्रतिकार गरेका छन् । उक्त प्रतिकारका क्रममा महानगर प्रहरी बलका प्रमुखसहित १८ जना नगर प्रहरी भाइते भएका छन् ।
उक्त घटनामा नगर प्रहरी शर्मिला बोगटीसहित तीन जना नगर प्रहरीको आईसीयुमा उपचार भइरहेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन् ।
यता काठमाडौँ महानगरपालिकाले महानगरीय प्रहरी परिसर टेकु काठमाडौँमा अपराध अनुसन्धानका लागि पत्र पठाएको छ । महानगर प्रहरी बलका प्रमुखसहित १८ जना नगर प्रहरीलाई आक्रमण गरी गम्भीर घाइते बनाइएको महानगरले जनाएको हो ।
अनधिकृत संरचना हटाउने कानुन बमोजिमको कार्यमा संलग्न नगर प्रहरीहरूलाई साङ्घातिक आक्रमण गर्ने व्यक्तिहरूलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न सम्बद्ध निकाय तथा पदाधिकारीहरूलाई महानगरले अनुरोध गरेको छ ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अनुरोधमा सोमबार थापाथलीस्थित बागमती किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाउन महानगर टोली खटिएको थियो ।
सो स्थानमा अनधिकृत संरचना निर्माण गर्ने व्यक्तिहरूले खुँडा जस्ता धारिलो हतियार, ढुङ्गा, मुढासहितका सामाग्री लिएर उपस्थित भई आपराधिक मनसायले एक्कासि आक्रमण गरेको महानगरको भनाई छ ।