
काठमाडौँ । प्रतिनिधिसभा अन्तरगत समानुपातिक मत गणना अन्तिम चरणमा पुगेको छ । अब १५ प्रतिशत मत मात्रै गणना गर्न बाँकी छ । यो समाचार तयार गर्दासम्म नेकपा एमालेले सबैभन्दा पहिलो स्थानमै छ । यो समाचार तयार पार्दासम्म एमालेले २५ लाख ३९ हजार ५८६ मत पाएको छ ।
सुरुदेखि दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले २४ लाख ३ हजार ६३६ मत पाएको छ । त्यसैगरी विहान केही समय रविको राष्ट्रिय स्वतन्त्र पार्टीले नेकपा माओवादी केन्द्रलाई पछि पारेको थियो । पछिल्लो परिणाम अनुसार माओवादी केन्द्र फेरि तेस्रो स्थानमा उक्लिएको छ । माओवादीले १० लाख ६८ हजार ५०३ मत पाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६४ हजार २०५ मत प्राप्त गरेको छ ।
त्यसैगरी राप्रपाले ५ लाख ४५ हजार ७५८ मत पाएको भने जसपा ३ लाख ३० हजार ३३४ पाएको छ । त्यस्तै, सिके रावतको पार्टी जनमत पार्टीले २ लाख ६६ हजार ११५ मत पाएको छ । नेकपा (एकिकृत समाजवादी) सिके रावतको पार्टी भन्दा पनि पछि छ । उसले २ लाख ५३ हजार ३७० मत पाएको छ ।
यसैबीच निर्वाचन आयोगले उदयपुर क्षेत्र नम्बर–१ मा स्थगित भएको मतगणना सुचारु गर्न निर्देशन दिएको छ । सोमबार आयोगले उदयपुरका मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्र लेख्दै यसअघि मतगणना पूर्व भएको सहमती अनुसार मतगणना गर्न भनेको हो ।
‘सो सम्बन्धनमा मतगणना पूर्व जे जस्तो सहमति भएको हो सो सहमतिका आधारमा मतगणना कार्यलाई निरन्तरता दिन सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिने’, आयोगका उप–सचिव ऋषिराम अर्यालले जारी गरेको पत्रमा भनिएको छ ।
आयोगले दोहोरो मतदान भएकोमा मंसिर ४ गते को आयोगको पत्र बमोजिम मतगणनालाई निरन्तरता दिनसमेत भनेको छ । प्रतिनिधिसभाको मतगणनाका क्रममा प्रदेशसभाको मतपत्र भेटिएपछि विवाद हुँदा आइतबारबाट गणना रोकिएको थियो ।
उदयपुर क्षेत्र नं.१ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डा.नारायण खड्का र नेकपा एमालेबाट मन्जुकुमारी चौधरी प्रतिस्पर्धामा छन् ।