काठमाडौँ । चुनावको अन्तिम परिणाम आउन नपाउँदै रवि लामिछानेले नेतृत्व गरेको पार्टीको कार्यालयमा आगलागी भएको छ । लामिछाने आफैले अपेक्षा गरेभन्दा राम्रो नजिता चुनाव निकाल्न सफल राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनस्थित कार्यालयमा आगलागी भएको हो ।
चितवन प्रहरीका अनुसार भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा आगो लागेको थियो । आगलागीबाट कार्यालयभित्र रहेका महत्वपूर्ण कागजपत्र, फर्निचरका सामग्री जलेका छन् । त्यस्तै, कार्यालयभित्र रहेको प्लास्टिकका कुर्ची, झण्डा, भित्र राखेको साइन बोर्डलगायतका केही सामग्रीमा क्षति पुगेको छ ।
प्रहरीका अनुसार कार्यालयको ढोका चाबी यथावत रहेको र भित्र केही सामान जलेको पाईएको छ । प्रहरीले ढोका लगाएकै अवस्थामा आगो लागेर कसरी निभ्यो भनेर अनुसन्धान गरिहेको छ ।
चुनावमा आएको नतिजाबाट आक्रोसका कारण अन्य समूह वा पार्टीका कार्यकर्ताले आगो लगाएको आशंका गरिएपनि चाबी लगाएकै अवस्थामा त्यो कसरी सम्भव भयो भन्ने ? प्रश्न उठेको छ । थप सहानुभूति लिन रवि आफैले कार्यकर्तालाई आगो लगाएर निभउन लगाएको हुन सक्ने अन्य राजनीतिक पार्टीका कार्यकर्ताहरुले आरोप लगाएका छन् ।
अर्को शंकास्पद कुरा त के भने, शुक्रबार राति लागेको आगोबारे प्रहरीलाई आइतबार मात्रै जानकारी गराइयो । आरोप र शंका विभिन्न भएपनि प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।
यसैबीच समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक भएकाे छ । प्रतिनिधिसभामा पहिलाे बनेकाे नेपाली काँग्रेस समानुपातिकमा दाेस्राे भएकाे छ ।
आइतबार दिउँसो ३:५० बजेसम्म ८८ लाख ६ हजार ५६९ मतगणना भएको छ। पछिल्लो परिणामअनुसार नेकपा एमालेले २४ लाख २१ हजार ७९६ मत प्राप्त गरेको छ। यस्तै, नेपाली कांग्रेसले २३ लाख २ हजार ७२६ मत पाएको छ।
नेकपा माओवादी केन्द्रले १० लाख ७ हजार ७२२ मत पाएर तेस्रो स्थानमा छ। त्यस्तै चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख ८८ हजार ७४२ मत पाएको छ। निर्वाचन आयोगले तीव्र गतिमा उच्च सुरक्षाबीच मतगणना भइरहेकाे जनाएकाे छ ।