कालिकोट । कालिकोटमा समानुपातिक मतमा नेकपा (माओवादी केन्द्र) पहिलो पार्टी बनेको छ । शनिबार राति सकिएको गणना सकिएको छ । प्रतिनिधिसभा र एक प्रदेशसभा जितेको माओवादी समानुपातिकमा पनि पहिलो पार्टी बनेको हो । मुख्य निर्वाचन अधिकृत भरत लम्सालका अनुसार प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकतर्फ माओवादी केन्द्र पहिलो पार्टी बनेको छ । एउटा पनि सिट जित्न नसकेको नेकपा एमाले दोस्रो र नेपाली कांग्रेस तेस्रो दल बनेका छन् ।
मुख्य निर्वाचन कार्यालयका अनुसार माओवादीले प्रतिनिधिसभामा समानुपातिकतर्फ १४ हजार दुई सय २९ र प्रदेशसभातर्फ १५ हजार दुई सय ५१ मत पाएको छ । एमालेले प्रतिनिधिसभातर्फ १२ हजार पाँच सय ६४ र प्रदेशसभातर्फ १२ हजार तीन सय ३९ मत पाएको छ । कांग्रेसले प्रतिनिधिसभामा १० हजार पाँच सय ८५ र प्रदेशसभातर्फ नौ हजार २० मत समानुपातिकमा पाएको छ ।
त्यसैगरी नेकपा )एकीकृत समाजवादी)ले प्रतिनिधिसभातर्फ दुई हजार ५६, प्रदेशसभामा दुई हजार एक सय २१, नेपाल मजदुर किसान पार्टीले प्रतिनिधिसभामा एक हजार दुई ४०, प्रदेशसभामा एक हजार पाँच सय सात, राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा एक हजार दुई सय ७३, प्रदेशसभामा एक हजार आठ सय ८२ मत पाएको छ ।
जिल्लामा प्रतिनिधिसभामा उम्मेदवार नउठाएको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ छ सय एक मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय कालीकोटले जनाएको छ । जिल्लामा ४६ हजार छ सय ६९ मत खसेको मुख्य निर्वाचन अधिकृत लम्सालले जानकारी दिए ।
देशभरको समानुपातिक तर्फको मत गणना जारी छ । यो समाचार तयार पार्दासम्म २१ लाख मतसहित नेकपा एमाले पहिलो दल बनेको छ । एमालेले २१ लाख ७५ हजार ३१ मत पाएको छ भने नेपाली काँग्रेसले २० लाख ९० हजार ८७२ मत पाएको छ । माओवादी केन्द्र तेस्रो स्थानमा पुगेर ९ लाख २१ हजार ४८ मत प्राप्त गरेको छ ।
त्यसैगरी रास्वपाले ८ लाख ८६ हजार ३६८ मत पाएको छ । प्रतिनिधिसभामा १० सिट जितेको नेकपा एकीकृत समाजवादीले थ्रेस होल्ड कटाउने सम्भावना बढेको छ । उसले १ हजार ९८ हजार ८९३ मत पाएको छ । यही गतिमा एकीकृत समाजवादीले मत ल्याएमा राष्ट्रिय पार्टी बन्नेछ ।
प्रतिनिधिसभामा ७ जितेको राप्रपाले ४ लाख ६८ हजार ४०३ मत पाएको छ भने जसपाले २ लाख ५४ हजार १९० मत पाएको छ । त्यस्तै, चार सिट जितेको लोसपा १ लाख ७२ हजार ५० मत मात्रै पाएको छ । लोसपा र नागरिक उन्मुक्ति पार्टी राष्ट्रिय पार्टी नबन्ने देखिएको छ ।