
काठमाडौँ । गत मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना कार्य अन्त्यतिर पुग्न लाग्दा पनि ३ जिल्लामा अझै मतपेटिका खोलिएको छैन । बाजुरा, दोलखा र स्याङजामा राजनीतिक दलहरुबीचको विवादका कारण मतगणना हुन नसकेको हो ।
बाजुराको बुढीनन्दा ५ लगायत जिल्लाका दुई दर्जन मतदान केन्द्रमा विवाद र झडप भएको थियो । सो जिल्लामा भएको एक मतदान केन्द्रको झडपमा परी कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघका कार्यकर्ता सञ्जिव ऐडी र एमालेको विद्यार्थी संगठनका नेता चेतन ऐडीको निधन भएको थियो ।
बुढीनन्दामा शनिबार पुनः मतदान गराउन निर्वाचन आयोगले निर्देशन दिएपनि एमालेको अवरोधका कारण जिल्ला निर्वाचन अधिकृतको कार्यालयले शनिबार निर्वाचन गराउन सक्ने अवस्था नरहेकोले अनिश्चित बनेको छ ।
यता दोलखामा एमालेले मतगणना कार्यमा सहभागी नहुने भन्दै पुनः मतदानको माग गरेको छ । जिल्लाका विभिन्न ६ मतदान केन्द्रमा बुथ कब्जा भएको एमालेको आरोप छ ।
दोलखाबाट प्रतिनिधित्व गर्ने एमाले पोलिटब्यूरो सदस्य पार्वत गुरुङले बुथकब्जा भएका मतदान केन्द्रमा पुन मतगणनाको माग गर्दै निर्वाचन आयोगलाई निवेदन दिएको बताए ।
उनका अनुसार कालिन्चोक गाउँपालिका वडा नम्बर १ को मतदान केन्द्रमा ९० प्रतिशत मतदान भएको, बैतेश्वर गाउँपालिका वडा नम्बर १ को कालीढुङ्गा मतदान केन्द्रमा ९० प्रतिशतमाथि मत खसेको, बैतेश्वर ६ को मतदान केन्द्रमा मतपेटिका चोरिएको, मतपेटिकामा पानी परेको र मतपत्र छरिएको अवस्थामा रहेको बताए ।
दोलखाको तामाकोशी गाउँपालिका, मेलुङ गाउँपालिका, कालिन्चोक गाउँपालिका, शैलुङ गाउँपालिकामा धाँधली भएको आरोप उनले लगाएका छन् ।
तामाकोशी गाउँपालिका २ मा रहेको हेल्थपोष्ट मतदान केन्द्रमा बुथ कब्जा भएको सो सहित ६ मतदान केन्द्रमा पुनः मतदानको माग गरिएको उनले बताए । पुन मतदानको माग राखेपछि निर्वाचन आयोगबाट नै मतगणना रोकिएको बताए ।
यस्तै स्याङजामा पनि बुथ कब्जा भएको भन्दै एमालेले मतगणना अघि बढाउन दिएको छैन । जिल्लाका विभिन्न ४ मतदान केन्द्र कब्जा गरेर मत हालेकोले ती बुथमा फेरि निर्वाचन गर्न एमालेको माग छ । एमाले सचिव समेत रहेकी उम्मेदवार पद्मा अर्यालले सत्ता गठबन्धन दलले बुथ कब्जा गरेको आरोप लगाउँदै पुनः मतदान गराउन माग गरेकी छन् ।
गठबन्धन दलले एकलौटी ढंगले बुथ क्याप्चर गरेर मतदान गरेको उनको आरोप छ । उनले भनिन्– ‘गाउँभरिका सबैको भोट अर्कैले हालिदिएर मतदाता फर्केर जानुपर्ने अवस्था भएको छ । अस्वाभाविक ढंगले ९९ प्रतिशत मत खसेको छ । जनताको हातबाट मतपत्र खोस्ने, अर्कैले छाप लगाइदिने, मरेका विदेश गएका सबैको नाममा मत हालिदिने काम भएको छ । अनाधिकृत रुपमा बुथ नियन्त्रणमा लिएर भोट हाल्ने काम भएको छ । त्यो मतदानलाई रद्द गरेर जनताले आफ्नो मत आफै हाल्न पाउनुपर्छ भनेका छौँ ।’
जिल्लाको चापाकोट नगरपालिका वडा नम्बर ४ को दारसिंहमा रहेको राममन्दिर मतदान स्थलमा बुध क्याप्चर भएको एमालेको आरोप छ । यस्तै चापाकोट नगरपालिकाको डिसिङकोट आधारभूत विद्यालय, कमेरे ।
वडा नम्बर ५ को जनसक्रिय आधारभूत विद्यालय र दिनदयालु आधारभूत विद्यालय, साठीमुरेको मतदान केन्द्रमा बुथ क्याप्चर भएको एमाले उम्मेदवार अर्यालको दावी छ ।
यी मतदान केन्द्रमा गठबन्धन दलले एकचौटी रुपमा ४३०० मत खसालिएको एमालेको दावी छ । एमालेले मतगणना प्रक्रियामा सहभागी नभएपछि यी स्थानमा मतगणना हुन सकेको छैन ।
आयोगले पठायो छानबिन टोली
मतगणना हुन नसकेका ३ जिल्लामा निर्वाचन आयोगले छानबिन टोली पठाएको छ । आयोगले सहसचिव तहको कर्मचारीको नेतृत्वमा छानबिन टोली पठाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले बताए । देशका १६५ निर्वाचन क्षेत्रमध्ये १६२ निर्वाचन क्षेत्रमा मतगणना सकिन लागेको बाजुरा, दोलखा र स्याङजामा मतगणना सुरु हुन नसकेको उनले बताए ।
ती जिल्लामा भएको विवादबारे अध्ययन गरेर छानबिन टोलीले प्रतिवेदन दिएपछि सो प्रतिवेदन सहितका आधारमा आयोगले आवश्यक निर्णय गर्ने उनले बताए ।