
काठमाडौँ । सरकारले फेसबुक, युट्युबलगायतका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
मन्त्रालयका अनुसार बन्द हुनेमा फेसबुक, युट्युब, एक्ससहित २६ वटा सञ्जाल रहेका छन् ।
यसअघि सरकारले सुचिकरण लागि सात दिनको समय तोकेको थियो । उक्त समयभित्र कोही पनि सूचीकरण हुन आएका थिएनन् ।
यही भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले सात दिनको म्याद दिएर सामाजिक सञ्जाललाई सूचीकरणका लागि समय दिएको थियो।
अब टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ मात्रै सूचीकृत भएका छन्।
प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले टिकटक सूचीकरण हुन नआएपछि बन्द गरेको थियो । त्यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीले नै सबैभन्दा धेरै विरोध गरेका थिए । तर, अहिले सबैभन्दा बढी प्रयोग हुने सामाजिक सञ्जाल नै बन्द गर्ने निर्णय गरेका छन् ।
सरकारको निर्णयको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले विरोध गरेका छन् । उनीहरुले आफूहरु विरोध उत्रिन बाध्य हुने बताएका छन् ।