काठमाडौँ । पहिलो प्रयासमै राष्ट्रिय स्वतन्त्र पार्टीका ७ उम्मेदवार प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
देशभरबाट राम्रो मत पाएको सो पार्टी प्रत्यक्षमा काठमाडौंसहित चितवन र ललितपुरमा विजयी भएको हो । सो पार्टीका सभापति रवि लामिछाने चितवन २ बाट ४९ हजार २६४ मतका साथ विजयी भए ।
यस्तै चितवन २ बाट हरि ढकाल ३४ हजार १८९ मतका साथ विजयी हुँदा ललितपुर ३ बाट डा तोसिमा कार्की ३१ हजार १३६ मतका साथ विजयी भइन् ।
यसैगरी काठमाडौं २ बाट सोविता गौतम १५ हजार २३८ मतका साथ विजयी हुँदा काठमाडौं ६ बाट शिशिर खनाल १४ हजार २०४ मतका साथ विजयी भए । यस्तै काठमाडौं ८ बाट विराज भक्त श्रेष्ठ १ हजार ११२ मतका साथ जियी भए भने ७ बाट गणेश पराजुली विजयी भए ।
पराजुलीले ८ हजार ७४३ मत पाएर विजय हासिल गरेका हुन् । यस्तै सोही पार्टीकी गोमा तामाङले सुनसरी १ बाट अग्रता कायम गरेकी छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभामा ५ सिट जित दर्ता गराएको छ ।
यस्तै सो पार्टीको अझै २ क्षेत्रमा अग्रता कायमै छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट ४० हजार ६६२ मतका साथ जित दर्ता गराए भने उपाध्यक्ष ध्रुवबहादुर प्रधानले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम २) बाट विजय हासिल गरे ।
उनले ३४ हजार ७६४ मत पाएर विजयी भएका हुन् । यस्तै महामन्त्री धवलशमशेर राणा बाँके २ बाट विजयी हुँदा उनले २९ हजार ५७७ मत प्राप्त गरे ।
यस्तै कार्यसम्पादन समिति सदस्य दीपक बहादुर सिंह मकवानपुर १ बाट विजयी हुँदा प्रवक्ता ज्ञानेन्द्र (ज्ञानबहादुर) शाही जुम्लाबाट विजयी भए ।
सिंह र शाहीले क्रमशः २७८१६ र २२८१९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । अझै राप्रपाका वरिष्ठ नेता दीपक बोहोराले रुपन्देही ३ र उपाध्यक्ष विक्रम पाण्डेले चितवन ३ बाट अग्रता बनाएका छन् ।
त्यस्तै माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभामा १० सिट जितेको छ । जारी मतगणनामा एकीकृत समाजवादीले सत्ता गठबन्धनबाट १९ सिट भाग पाएकामा १० सिटमा जित दर्ता गराएको छ ।
अब कतैपनि समाजवादीको अग्रता छैन । जारी मतगणनामा इलाम १ मा झलनाथ खनाल एमालेका उम्मेदवार भन्दा पछिपछि रहेका छन् । एकीकृत समाजवादीबाट अध्यक्ष माधव कुमार नेपाल रौतहट १ बाट विजयी भएका छन् ।
यस्तै उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे धादिङ १, नेताहरु प्रकाश ज्वाला सल्यान, भानुभक्त जोशी बझाङ, प्रेम बहादुर आले डोटी, मेटमणि चौधरी दाङ १, कृष्ण कुमार श्रेष्ठ (किसन) बारा ४, शेर बहादुर कुँवर अछाम १ अम्मर बहादुर थापा दैलेख १ र धन बहादुर बुढा डोल्पाबाट विजयी भएका छन् ।


अनलाइन डबली





