
काठमाडौँ । बारा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट शेरबहादुर देउवा नेतृत्वको सरकारका खानेपानीमन्त्री उमाकान्त चौधरी पराजित भएका छन् ।
एमालेका अच्युतप्रसाद मैनालीले बहालवाला मन्त्रीलाई पराजित गरेका हुन् । शुक्रबार बिहान सकिएको बारा १ को मतपरिणाम अनुसार खानेपानीमन्त्री चौधरी ९ हजार १ सय ३९ को मतान्तरले पराजित भएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बारा १ मा एमाले उम्मेदवार मैनालीले ३९ हजार १ सय ९५ मत ल्याई विजयी भएका छन् । खानेपानीमन्त्रीसमेत रहेका कांग्रेसका उम्मेदवार चौधरीले ३० हजार ५६ मत मात्रै प्राप्त गर्न सकेका छन् ।
यस्तै प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत धनुषा क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादव निर्वाचित भएका छन् ।
शुक्रबार बिहान सार्वजनिक मत परिणामअनुसार नेकपा एमालेका उम्मेदवार उमाशंकर अरगरियालाई १५७ मतान्तरले पराजित गर्दै यादव विजयी बनेका हुन् ।
यादवले २० हजार ११२ मत ल्याए । निकटतम प्रतिद्वन्द्वी अरगरियाले १९ हजार ९५५ मत ल्याएका छन् । यतासिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका छन् ।
उनले नेकपा (एमाले) का उम्मेदवार शेरबहादुर तामाङलाई पराजित गरेका हुन् । बस्नेतले ११ हजार आठ सय ७४ मतान्तरले तामाङलाई पराजित गरेका हुन् ।
कांग्रेसका बस्नेतले ३९ हजार तीन सय ६७ तथा एमालेका तामाङले २७ हजार चार सय ९३ मत ल्याएको जिल्ला निर्वाचन अधिकारी विकास रिजालले जानकारी दिए ।
सिन्धुपाल्चोक–२ मा कांग्रेसले पहिलोपटक जित निकालेको हो । तामाङले यसअघि २०७० र २०७४ सालमा यस क्षेत्रबाट निर्वाचन जितेका थिए ।
सिन्धुपाल्चोक–२ को प्रदेशसभा (१) मा माओवादी केन्द्रका युवराज दुलाल र प्रदेशसभा (२) मा कांग्रेसका कृष्णकुमार तामाङ निर्वाचित भएका छन् ।