
विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट नेपालीँ कांग्रेसका नेता शेखर कोइराला निर्वाचित भएका छन् । कोइरालाले नेकपा एमालेका लालबाबु पण्डितलाई हराउँदै निर्वाचित भएका हुन् ।
उनले ३५ हजार २१८ मत ल्याए भने एमालेका पण्डितले २२ हजार ९३२ मत ल्याएका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले ९५७१ मत पाए भने राप्रपाका गोपाल क्षेत्रीले ८८२९ मत पाएका छन् ।
गत चुनावको बदला लिंदै कोइराला विजयी भए । २०७४ को निर्वाचनमा यही क्षेत्रबाट लालबाबुले शेखर कोइरालालाई हराएका थिए ।
यता सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका छन् । शुक्रबार विहान सकिएको मतगणना अनुसार उनले नेकपा एमालेका शेरबहादुर तामाङलाई ११ हजार ८ सय ७४ भारी मतान्तरसहित पराजित गरेका हुन् ।
बस्नेतले ३९ हजार ३ सय ६७ मत ल्याउँदा एमालेका तामाङले २७ हजार ४ सय ९३ मत मात्रै ल्याउन सके ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माया गुरुङले २ हजार ४ सय ५२ मत ल्याइन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नरसिंह श्रेष्ठले २ हजार ८ सय १९ मत ल्याए ।
सत्तारुढ गठबन्धनले गरेको चुनावी तालमेलका कारण यसअघि क्षेत्र नम्बर १ बाट चुनाव लड्ने गरेका बस्नेत यसपटक क्षेत्र नम्बर २ मा आइपुगेका थिए ।
उता बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेकी ज्वालाकुमारी साह निर्वाचित भएकी छन् ।
ज्वालाले जनता समाजवादी पार्टीका रामवावुकुमार यादवलाई पराजित गर्दै निर्वाचित भएकी हुन् । उनले २०२५१ मत ल्याइन् भने उनका प्रतिस्पर्धी यादवले १७२७९ मत पाए ।
यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका लालबाबु सिंह भुइहारले ११ हजार ९६४ मत पाएर तेस्रो हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र शर्माले ३५७९ मत पाएर चौथो भएका छन् ।
जनमत पार्टीकी राधिका देवी साहले ३३३१, भङ्गेरा चिह्नमा चुनाव लडेका कलामुदीनले १८७८, एकीकृत शक्ति नेपालका नरेशकुमार चौलागाईंले १०७५, नेपाल लोकतान्त्रिक पार्टीका महम्मद शानी ठकुराईले १०४४ मत पाएका छन् ।