धनगढी । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य खगराज भट्ट डडेल्धुराबाट प्रदेशसभामा जित सुनिश्चित भएको छ । गणना हुन बाँकी रहेको मत भन्दा अग्रता लिएसँगै भट्टको जित सुनिश्चित भएको हो ।
अजयमेरु-६ काे मत गणना बाँकी रहँदा भट्टले २ हजार २८० मतले नेकपा एमालेका पठानसिंह बोहरालाई पछि पारेका छन्। गणना सकिन लागेको छ भने औपचारिक घोषणा गर्ने तयारी निर्वाचन कार्यालयले गरेको छ । नेता भट्ट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका बलिया उम्मेदवार समेत हुन् ।
यसैबीच भट्टले आफू विजयी भएलगत्तै मतदातालाई सम्बोधन गर्दै यो जित विकसित डडेल्धुरा र सुदूरपश्चिमको सपना देख्ने सबैको भएको बताएका छन् । उनले आफूलाई मत दिने र नदिने मतदाता प्रेरणाका स्रोत भएको बताउँदै पराजित उम्मेदवार तथा पार्टीलाई राजनीतिक आँखाबाट नहेर्ने समेत बताएका छन् ।
विजय सुनिश्चित भएपछि भट्टले सामाजिक संजालमार्फत गरेको घोषणा तथा प्रतिवद्धताः
प्रिय डडेल्धुराबासी आमा बुवा,दाजुभाई दिदिबहिनीहरु, तपाईँको अमुल्य मत, विश्वास र भरोसाका लागि धन्यवाद । यो मेरो होइन तपाईंको जित हो । विकसित डडेल्धुरा र सुदूरपश्चिमको सपना देख्ने हरेकको जित हो । तपाईँको विश्वास तोड्ने काम हुने छैन । गरेका वाचा पूरा गर्न मन वचनले इमान्दारीपुर्वक लाग्नेछु ।
पक्कै पनि तपाईंले बोकाएको जिम्मेवारीको भारीलाई म गन्तव्यसम्म पुर्याउने छु। मलाई मत दिने नदिने सबै मेरा प्रेरणाका स्रोत हुन । म कसैलाई पनि राजनीति आखाबाट हेर्न चाहान्न । म संगै चुनावी प्रतिस्पर्धामा रहेका साथीहरूप्रती मेरो सम्मान छ । उहाँका रचनात्मक सुझाव म सधैं ग्रहण गर्नेछु ।
अन्तिममा आदरणीय पार्टी अध्यक्ष प्रचण्ड,सम्मानिय प्रधानमन्त्री शेरबहादुर देउवा ज्यु,रातदिन निर्वाचनमा खटिएका सबै साथीहरु,विभिन्न ठाउँबाट मप्रती सदभाव राख्नुहुने,सहयोग गर्नुहुने सबैप्रती हार्दिक आभार व्यक्त गर्दछु ।