
मकवानपुर । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर–१ मा नेकपा एमालेको चुनाव चिह्न लिएर उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले अन्तिम मत परिणाम सार्वजनिक हुनु अघि नै आफ्नो पराजय स्वीकार गरेको घोषणा गरेका छन् ।
सो क्षेत्रमा अझै करिब १० हजार मत गणना बाँकी छ । उनले सामाजिक सञ्जालमार्फत पराजयलाई स्वीकार गर्दै लेखेका छन्, ‘पराजयलाई सहर्ष स्वीकार गर्दछु । हामीलाई मत दिनुहुने सबैमा आभार ।’ उनले सूर्य चिन्ह लिएर चुनाव लड्ने अवसर दिएकोमा नेकपा एमालेलाई धन्यवाद पनि दिएका छन् ।
उनले लेखेका छन्, ‘चुनावमा रातदिन नभनी इमानदारपूर्वक खट्ने एमालेका सम्पूर्ण कमरेडहरु, राप्रपा नेपालका साथीहरु प्रति आभारी छु ।’आ फू देश र जनताको हितमा निरन्तर सक्रिय रहने प्रतिवद्धता पनि उनले जनाएका छन् ।
‘२०७९ सालको चुनावले सकारात्मक परिवर्तनको पक्षमा दिएको सशक्त सन्देशलाई सबैले मनन गर्नु जरुरी छ,’ उनले लेखेका छन्, ‘प्रजातान्त्रिक अभ्यासमा हारजित स्वाभाविक हो । व्यक्ति हारे पनि देश, जनता र लोकतन्त्र बलियो हुँदै जानुपर्छ ।’ उनले सनातन धर्म, संस्कृति रक्षाको आवाज कमजोर हुँदै जान लागेकोमा भने केही खिन्नता लागेको उल्लेख गरेका छन् ।
‘पराजयलाई सहर्ष स्विकार गर्दछु। हामीलाई मतदिनु हुने सबैमा आभार। ‘सूर्य’चिन्ह लिएर चुनाव लड्ने अवसर दिएकोमा नेकपा(एमाले)लाई धन्यवाद। चुनावमा रातदिन नभनी ईमान्दारपुर्वक खट्ने एमालेका सम्पूर्ण कमरेडहरु,राप्रपा नेपालका साथीहरु प्रति आभारी छु। देश र जनताको हितमा निरन्तर सक्रिय रहने छु। २०७९ सालको चुनावले सकारात्मक परिवर्तनको पक्षमा दिएको सशक्त सन्देशलाई सबैले मनन गर्नु जरुरी छ।प्रजातान्त्रिक अभ्यासमा हारजित स्वभाविक हो।व्यक्ति हारेपनि देश,जनता र लोकतन्त्र बलियो हुँदै जानुपर्छ। सनातन धर्म संस्कृति रक्षाको आवाज कमजोर हुँदै जान लागेकोमा भने केही खिन्नता लागेको छ ।’ उनले भनेका छन् ।
यस्तै मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर(२ मा नेकपा एमालेका महेश बर्तौला निर्वाचित भएका छन् । बर्तौलाले ४ हजार ५२० मतान्तरले चुनाव जितेका हुन् ।
उनले सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य विरोध खतिवडालाई पराजित गरेका हुन् । खतिवडा राजनीतिक रुपमा बर्तौलाको गुरु हुन् । बर्तौलाको राजनीति जीवन खतिवडा कै छत्र छायाँमा विकास भएको हो ।
कुल ८६ हजार ३०१ मत गणना गर्दा एमालेका बर्तौलाले ३४ हजार ९१६ मत पाएका थिए भने खतिवडाले ३० हजार ३९६ मत पाए । यता राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले १२ हजार ३९ मत पाएका थिए ।
को हुन् बर्तौला
मकवानपुरको नामटारस्थित कालिका माविमा कक्षा ७ मा अध्ययन गर्दा २०५३ सालमा महेश बर्तौलाले अनेरास्ववियुको प्रारम्भिक कमिटीको अध्यक्षको जिम्मेवारी सम्हाले । उनले रक्तिम इतिहास बोकेको अनेरास्ववियुको इलाका जिल्ला अञ्चल कमिटी हुँदै केन्द्रीय कमिटीको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरे । अनेरास्ववियुको केन्द्रीय सचिव उपाध्यक्ष र कार्यबाहक अध्यक्षको जिम्मेवारीमा समेत महेश खरो उत्रिएका छन् ।
विद्यार्थी आन्दोलनको मोर्चामा उनले आफूलाई मात्रै होइन सिंगो संगठनलाई नै स्थापित गरेका छन् । विद्यार्थीहरूको आस्थाको धरोहर अनेरास्ववियु मकवानपुरको २ कार्यकाल अध्यक्षको जिम्मेवारी उनले कुशलता पूर्वक बहन गरे । २ पटक मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु सभापति बन्दा उनले विद्यार्थीको हितका लागि थुप्रै काम गरेका छन् ।
२०६३ मा नेकपा एमालेको जिल्ला सदस्य हुँदा उनले मकवानपुरको पश्चिम क्षेत्रको इन्चार्जको जिम्मेवारी बहन गरेका थिए । तत्कालीन राजा ज्ञानेन्द्रको बर्बरता पुर्ण निरंकुशताको बिरूद्ध आन्दोलनमा उनले नजरबन्द र जेल नेलकै सामना गरेका छन् ।
दृढ संकल्पलाई पूरा गर्न निर्भिकता पूर्वक लाग्ने स्वभावले महेश बर्तौलालाई २०७८ सालमा नेकपा एमाले बागमती प्रदेश कमिटीको सदस्य बनायो । अहिले उनी बागमती प्रदेश कमिटिका उपसचिव छन् । नेपाल ल क्याम्पसबाट स्नातक गरेका बर्तौलाले २०६८ मा अधिवक्ताको लाइसेन्स लिए । मकवानपुर बहुमुखी क्याम्पसबाट व्यवस्थापन सङ्कायमा स्नातकोत्तर गरेका बर्तौला राजनीति शास्त्रमा एमफिल गरी विद्यावारिधि अध्ययन गरिरहेका छन् ।