काठमाडौं । वाम लोकतान्त्रिक गठबन्धनले जाजरकोटमा ‘क्लीन स्वीप’ गरेको छ । प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत ९ हजार बढी मतान्तरले विजयी भएका छन् । त्यस्तै प्रदेशसभा क र ख मा नेपाली काँग्रेसका वेदराज सिंह र राजीवविक्रम शाह विजयी भएका छन् ।
विहीबार विहान सार्वजनिक भएको मत परिणाम अनुसार बस्नेतले ३४ हजार १५१ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका निरज आचार्यले २५ हजार १२० मत पाए । बस्नेतले ९ हजार ३१ बढी मत लिएका छन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि जाजरकोटबाट माओवादी केन्द्रका बस्नेत निर्वाचित भएका थिए ।
बस्नेतले यो सँगै तीन पटक संदसदीय निर्वाचन जिते । २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उनी जाजरकोटबाटै निर्वाचित भएका थिए ।
त्यसैगरी प्रदेशसभामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा क मा काँग्रेस नेता बेद राज सिंह विजयी भएका छन् । उनले १८ हजार ५४३ मत लिएर नेपाल कम्युनिष्ट पार्टी (एमाले) का डम्बरबहादुर सिंहलाई पराजित गरेका छन् । एमालेका सिंह ११ हजार ४७० मतमै सिमित रहे ।
त्यस्तै, प्रदेशसभा ख मा काँग्रेसकै राजीवविक्रम शाह विजयी भएका छन् । शाहले १६ हजार ४० मत पाउँदा उनका प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का खिमबहादुर शाहीले १० हजार ५३० मै समित रहे ।
यसैबीच सल्यानमा प्रतिनिधिसभा सदस्यतर्फको निर्वाचनमा नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला विजयी भएका छन् ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सल्यान क्षेत्र नं १ मा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उम्मेदवार प्रकाश ज्वालाले ३५ हजार ७०० मत ल्याई विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका उम्मेदवार राजेन्द्रबहादुर शाहलाई १५ हजार ९११ मतान्तरले पराजित गरेका हुन् । पराजित राजेन्द्रबहादुर शाहले १९ हजार ७८९ मत ल्याएका छन् । त्यस्तै, एमालेका उमेदवार राजेन्द्र विर रायले १३ हजार २९ मत ल्याएका छन् ।