काठमाडौं । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने जित नजिक पुगेका छन् । उनले मध्यरातिसम्म २९ हजार मत कटाएका छन् । नेपाली काँग्रेसका उमेश श्रेष्ठलाई निकै फरक मतले पछि पारेका लामिछानेले जितको यात्रा तय गरेका छन् ।
रविले २९ हजार मत पुर्याउँदा श्रेष्ठले ११ हजार ४ सय मत प्राप्त गरेको बताइएको छ । यसअघि दोस्रोमा रहेका नेकपा एमालेका कृष्णभक्त पोख्रेलले ११ हजार २ सय मतसहित तेस्रोमा सिमित भएका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन अधिकारीले ५९२ मत पाएका छन् ।
भरखरै प्राप्त समाचार अनुसार प्युठानबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार सूर्य थापा निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी सत्ता गठबन्धनकको समर्थन पाएकी राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेललाई ५ हजार २७४ को फराकिलो मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।
थापाले ४१ हजार ११८ मत पाए भने पौडेलले ३५ हजार ८४४ मत पाइन् । पौडेलले २०७४ मा कांग्रेस नेता डा. गोविन्दराज पोखरेललाई पराजित गरेकी थिइन् । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको प्यूठानमा प्रतिनिधिसभामा ८८ हजार ४७ मत खसेको थियो ।
त्यसैगरी अर्घाखाँचीमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी चौथौ पटक प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसाललाई १७३० मतले मतान्तरले पराजित गदै रायमाझी विजयी भएका छन् । रायमाझीले ४२ हजार ६ सय ७५ मत ल्याउँदा भुसालले ४० हजार ९ सय ४५ मत ल्याइन् ।
२०६४, २०७० मा संविधान सभा सदस्य भएका रायमाझी २०७४ मा माओवादी केन्द्रबाट विजयी भएका रायमाझीले चौथौ पटक अर्घाखाँचीबाट जित हासिल गरेका छन् ।
यो समाचार तयार पार्दै गर्दा पर्सा क्षेत्र नं ३ बाट नेकपा एमालेका राजकुमार गुप्ता प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिश्पर्धी नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीलाई १५१ मतले पराजित गर्दै राजकुमार विजयी भएका हुन् । २४ हजार २६० मत ल्याएर उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा सुरेन्द्रले २४ हजार १०९ मत पाए । चौधरी १५१ मतान्तरले पराजित भएका हुन् ।
मतगणना गर्दादेखि नै कहिले कांग्रेसका सुरेन्द्र अगाडि त कहिले एमालेका राजकुमार अगाडि हुँदै आएकोमा पछिल्लो समय सुरेन्द्रले अग्रता कायम गरेका थिए । तर अन्त्यमा राजकुमारले नै बाजी मारे ।
०७४ को निर्वाचनमा यो क्षेत्रमा तत्कालिन संघीय समाजवादी फोरम नेपालका हरिनारायण रौनियार विजयी भएका थिए । १५ हजार १६८ मत ल्याएर हरि नारायण विजयी हुँदा सुरेन्द्रले १३ हजार ८०१ मत ल्याएर दोस्रो भएका थिए । २०७४ सालमा तेस्रो स्थानमा रहेका एमालेका राजकुमारले १० हजार ९८६ मत ल्याएका थिए ।