
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा शिक्षामन्त्री देवेन्द्र पौडेल विजयी भएका छन् । माओवादी केन्द्रका सचिव समेत रहेका पौडेल बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
बुधबार बेलुकातिर सकिएको मत गणना अनुसार पौडेलले २४ हजार ७७९ मत प्राप्त गर्दै विजयी भएका छन् । उनले नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई पराजित गरेका छन् । चालिसेले २० हजार १८० मत प्राप्त गरेकी छन् । पौडेलसँग मञ्जु ४ हजार ५९९ मतले पछि परेकी हुन् । यसअघि २०७४ सालमा पनि पौडेलले यही क्षेत्रबाट विजयी भएका थिए ।
यसैबीच भरखर प्राप्त समाचार अनुसार कञ्चनपुर क्षेत्र -२ को प्रदेशसभाका दुवै सिटमा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । प्रदेशसभा-१ मा माओवादी केन्द्रका ओमबिक्रम भाट (सरल) र प्रदेशसभा (२) मा नेपाली कांग्रेसका बहादुरसिंह थापा विजयी भएका हुन् ।
प्रदेशसभा-१ मा भाट प्रतिद्धन्द्धी नेकपा एमालेका वचनबहादुर सिंहलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।उनले १० हजार ९२५ मत पाउँदा सिंहले १० हजार ४५० मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतान्तर ४७५ छ ।
थापाले एमालेका कृपाराम रानालाई १ हजार ७२६ मतले हराउदै निर्वाचित भएका हुन् । थापाले १० हजार ६६८ मत ल्याउँदा रानाले ८ हजार ९४२ मात्रै मत पाए ।
उता अर्घाखाँची प्रदेश सभा २ मा भने नेकपा एमालेका रामजीप्रसाद घिमिरे विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कमल भुसाललाई पराजित गर्दै घिमिरे विजयी भएका हुन ।
विजयी घिमिरेले २२ हजार ७७६ ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कमल भुसालले २१ हजार ९७५ ल्याएका हुन । ८०१ मतान्तरले घिमिरे विजयी भएका छन् ।