
अछाम । अछाम-२ को प्रदेशसभा क का उम्मेदवार अक्कल बहादुर रावलले सुरुवाती अग्रता लिएका छन् । प्रतिनिधिसभाको नतिजा सार्वजनिक भएपछि बुधबार साँझबाट प्रदेशसभाको मत गणना सुरु भएको थियो ।
माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष समेत रहेका गठबन्धका उम्मेदवार रावलले अहिले २ हजार ८५ मतसहित अग्रता लिएका छन् । त्यसैगरी नेकपा एमालेका भीमबहादुर विष्टले १ हजार ९५३ मत पाएका छन् । त्यस्तै प्रदेश ख का उम्मेदवार मानबहादुर रावलले पनि अग्रता लिएका छन् । उनले एमालेका उम्मेदवारलाई पछि पारेका छन् ।
त्यस्तै क्षेत्र नं. १ मा पनि गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका छन् । क मा मेगराज खड्का र ख मा झपट साउदले अग्रता लिएका छन् । दुबै क्षेत्रमा एमाले उम्मेदवार पछि परेका छन् ।
धरखरै प्राप्त समाचार अनुसार दार्चुलाबाट नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडू प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बडूले २८ हजार ५१५ मत ल्याउँदै एमालेका गणेश ठगुन्नालाई पराजित गरेका हुन् । उनका प्रतिद्धन्द्धी एमालेका ठगुन्नाले २६ हजार ३८१ मत पाएका छन् । ठगुन्ना २०७० र २०७४ सालमा दार्चुलाबाट निर्वाचित भएका थिए ।
त्यसैगरी रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा)का सर्वेन्द्रनाथ शुक्ल निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वीलाई पाँच हजार २ सय ९६ मतले पछि पार्दै शुक्लले २८ हजार मत प्राप्त गरी निर्वाचित भएको रुपन्देही–४ का निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रमोद कुमारयादवले २२ हजार ७०४ मत प्राप्त गरे । त्यस्तै जनमत पार्टीका भोपेन्द्र प्रसाद यादवले १५ हजार ५२६ मत ल्याए । एक लाख दश हजार ६ सय ५९ मतदाता रहेकोमा रुपन्देही–४ को प्रतिनिधीसभामा ७७ हजार ६४ मत खसेको थियो ।