
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहाल ‘राजन’ सिन्धुली–२ बाट निर्वाचित भई खाता खोलेका छन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी नेता दाहाल २७ हजार ५१७ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
एमालेका मनोजजंग थापालाई हराउँदै दाहाल निर्वाचित भएका हुन् । थापाले २१६८७ मत ल्याएका छन् । यस्तै प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फ नेकपा माओवादी केन्द्रले पनि एक लाख मत कटाएको छ ।
समानुपातिकतर्फ सबैभन्दा पहिला एक लाख कटाउने दल एमाले हो भने दोस्रोमा नेपाली कांग्रेस, तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी र चौथोमा नेकपा माओवादी केन्द्रले एक लाख मत कटाएका हुन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार समानुपातिकतर्फ एमालेले २ लाख ४१ हजार ५९४ मत पाउँदा नेपाली कांग्रेसले २ लाख १८ हजार ७०७, राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख ११ हजार ३९४ र नेकपा माओवादी केन्द्रले एक लाख ३६४ मत पाएको छ ।
राप्रपाले भने अहिलेसम्म ५७ हजार २३६ मत पाएको छ । यस्तै आइतबार सम्पन्न आम निर्वाचनको प्रदेशसभा तर्फको मतगणना जारी रहेको छ ।
बुधबार बिहान साढे ११ बजेको अध्यावधिक विवरणअनुसार प्रत्यक्षमा प्रदेश १ मा नेपाली कांग्रेस एक प्रदेशसभा निवाचन क्षेत्रमा विजयी भएको छ भने ११ स्थानमा अगाडि छ । यस्तै माओवादी केन्द्र एक स्थानमा विजयी हुँदा ६ मा अग्रता रहेको छ ।
यस्तै एमालेले प्रदेशसभा निर्वाचन क्षेत्रमा १९ स्थानमा अग्रता बनाएको छ भने राप्रपाले ३, नेकपा एकीकृत समाजवादीले २ स्थानमा अग्रता बनाएको छ ।
यस्तै मधेस प्रदेशमा जनमत पार्टीले २ स्थानमा जित र ३ स्थानमा अग्रता बनाएको छ भने कांग्रेसमा एकमा विजयी तथा ११ स्थानमा अग्रता बनाएको छ । यस्तै जसपा १ स्थानमा विजयी हुँदा ८ स्थानमा अगाडि छ भने माओवादी केन्द्र १ स्थानमा विजयी हुँदा ६ स्थानमा अगाडि छ ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले एक स्थानमा जित हासिल गर्दा एक ४ स्थानमा अगाडि छ । यसैगरी अन्य पार्टी तथा स्वतन्त्र उम्मेदवार १९ स्थानमा अगाडि छन् ।
यसैगरी बागमती प्रदेशमा कांग्रेसले ८ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ भने १२ मा अग्रता बनाएको छ । यस्तै एमाले ४ मा विजयी हुँदा ११ स्थानमा अगाडि छ । माओवादी केन्द्र एक निर्वाचन क्षेत्रमा विजयी हुँदा ८ स्थानमा अगाडि छ भने एकीकृत समाजवादी पार्टी १ स्थानमा विजयी हुँदा ८ स्थानमा अगाडि छन् ।
यस्तै राप्रपाले ६ स्थानमा अग्रता बनाएको छ भने अन्य स्थानमा २ उम्मेदवारको अग्रता छ । यस्तै गण्डकीमा कांग्रेसले ३ स्थानमा विजयी र ९ स्थानमा अग्रता बनाएका छन् ।
यस्तै एमालेले १ स्थानमा जित र १० स्थानमा अग्रता बनाएका छन् । यस्तै माओवादी केन्द्र १ स्थानमा विजयी र ४ स्थानमा अगाडि छ । यस्तै मनाङमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
यसैगरी लुम्बिनी प्रदेशसभामा जसपाले २ स्थानमा जित हासिल गर्दा एक जना स्वतन्त्र उमेदवार पनि विजयी भएका छन् । यस्तै एमाले १४, कांग्रेस १२, माओवादी ४ र अन्य पार्टी तथा स्वतन्त्र उम्मेदवार ८ स्थानमा अगाडि छन् ।
यस्तै कर्णालीमा कांग्रेस २ स्थानमा विजयी हुँदा ४ स्थानमा अगाडि छ भने माओवादी ५, एमाले १ स्थानमा अगाडि छ ।
सुदूरपश्चिम प्रदेशमा कांग्रेस एक स्थानमा विजयी हुँदा ६ स्थानमा अगाडि छ । यस्तै माओवादीले एक प्रदेशसभामा जित हासिल गर्दा २ मा अगाडि छ । यस्तै एमालेका ४, नागरिक उन्मुक्ति पार्टीका २ र एकीकृत समाजवादी पार्टीका १ उम्मेदवारले पनि अग्रता बनाएका छन् ।