काठमाडौँ । गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारी मतान्तरसहित अग्रता कायम राखेका छन् ।
बुधबार बिहानसम्मको मतगणनाको परिणामअनुसार प्रचण्डले १५ हजार ५७६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ४ हजार ७०५ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका अब्दुस सलाम मियाँले ३ हजार ९२३ मत ल्याएका छन् । यता प्रतिनिधिसभाको समानुपातिकतर्फको जारी मतगणनामा घण्टी चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख मत कटाएको छ ।
तेस्रो स्थानमा रहेको सो पार्टीले बुधबार बिहान साढे ८ बजेसम्म १ लाख १ हजार ५४३ मत प्राप्त गरेको हो । पहिलो स्थानमा रहेको एमालेले २ लाख २० हजार ५१७ मत प्राप्त गरेको छ भने कांग्रेसले १ लाख ९७ हजार ५४३ मत पाएको छ ।
यस्तै चौथो स्थानमा रहेको माओवादी केन्द्रले ९१ हजार ९५५ मत प्राप्त गर्दा राप्रपाले ५१ हजार मत कटाएको छ।
यस्तै जसपाले १६ हजार, जनमतले पनि १६ हजार तथा नेमकिपाले १३ हजार, नेकपा एकीकृत समाजवादीले ११ हजार तथा नागरिक उन्मुक्ति पार्टीले १० हजार समानुपातिक मत कटाएको छ ।
अन्य पार्टीको नाममा ४५ हजार मत आएको छ । उता प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारी मतान्तरसहित निर्वाचित भएका छन् ।
डडेल्धुराबाट निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाललाई करिब साढे १२ हजार मतान्तरसहित पराजित गर्दै देउवा निर्वाचित भएका हुन् ।
देउवाले २५ हजार ५३४ मत ल्याउँदा ढकालले १३ हजार ४२ मत प्राप्त गरे । नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले ७ हजार ५३५ मत ल्याए ।


अनलाइन डबली


