
चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले २५ सयभन्दा बढी मतले आफ्नो अग्रता कायम राखेका छन्।
सुरूआती मतगणनामा तेस्रो स्थानमा रहेका लामिछानेले मंगलबार दिउँसोबाट अग्रता लिन सुरू गरेका हुन्। त्यसपछि उनी पछि परेका छैनन्।
यहाँ अहिलेसम्म १८ हजार ४ सय ५४ मत गनिएको छ। त्यसमध्ये लामिछानेले ७५२१ मत ल्याएका छन्। उनको तुलनामा नेकपा एमालेका कृष्णभक्त पोखरेल २५२२ मतले पछाडि छन्। पोखरेलले ४९९९ मत ल्याएका छन्।
नेपाली कांग्रेसका उमेश श्रेष्ठ ४६९४ मत ल्याएर तेस्रो स्थानमा छन्। उता नवलपरासीको बर्दघाट सुस्ता पश्चिम क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्रसेन ठकुरीले अग्रता कायमै राखेका छन्। ठकुरीले ७ हजार ३ सय ९१ मत प्राप्त गरेका छन्।
उनलाई नेपाली कांग्रेसका विनोद चौधरीले पछ्याइरहेका छन्। चौधरीले ६ हजार ८ सय ९० मत प्राप्त गरेका छन्। दुई बीच मतान्तर ५ सय १ छ। त्यस्तै जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले ५ हजार ५ सय ८९ मत प्राप्त गरेका छन्।
चौधरी पहिलोपटक प्रत्यक्ष तर्फ निर्वाचन लड्न नवलपरासी पश्चिम पुगेका हुन्। त्रिपाठीले विगतमा पाँच पटक निर्वाचन जितिसकेका छन्। यस्तै काठमाडौं क्षेत्र नम्बर ६ को पछिल्लो मत परिणाम प्राप्त भएको छ।
यहाँ अहिलेसम्म १८ हजार ८ सय ९४ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले ६८५६ मत ल्याएर अग्रस्थानमा छन्। उनको तुलनामा नेकपा एमालेका सर्वेन्द्र खनाल २६४६ मतले पछाडि छन्। सर्वेन्द्र खनालले ४२१० मत ल्याएका छन्।
त्यस्तै नेपाली कांग्रेसका भिमसेनदास प्रधान ४१९४ मत ल्याएर तेस्रो स्थानमा छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद आचार्यले ११४४ मत ल्याएका छन्।
यस्तै झापा-१ प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिस्पर्धीसँगको मतान्तर फराकिलो बनाएका छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार उसनले २३ हजार ३८५ मत पाएका छन्। उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका अग्निप्रसाद खरेल हुन्।
यसअघिको निर्वाचनमा खरेलले नै शर्मालाई पराजीत गरेका थिए। खरेलले अहिलेसम्म १४ हजार ४५ मत पाएका छन्। अहिले उनीहरूबीच ९ हजार ३४० मतको अन्तर छ।