काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणलाई चुनावी परिणामले झट्का दिएको छ । मतगणनाको सुरुवातमै अग्रता लिएका खाँण पछि परेका छन् । नेकपा एमालेले समर्थन गरेका राप्रपाका दीपक बोहराले अग्रता लिएका छन् ।
रुपन्देही–३ को पछिल्लो परिणाम अनुसार बोहराले चार हजार १७० मतसहित अग्रता लिएका छन् । सत्ता गठबन्धनका साँझ उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता खाँणले तीन हजार ९१९ मत पाएका छन् ।
यसैबीच काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका सूर्यमान दोङले ३८५ मतसहित सुरुवाती अग्रता कायम गरेका छन् । उनलाई नेकपा एमालेका रेशम लामाले ३१५ मत पाएका छन् ।
त्यस्तै पोखराबाट प्राप्त समाचार अनुसार कास्की क्षेत्र नं. ३ मा सुरुआतदेखि नै निरन्तर अग्रता लिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिन्दै नेकपा एमालेले अग्रता लिएको छ । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादीका रामजी बराल तेस्रो स्थानमा छन् ।
मंगलबार बिहान १० बजेसम्मको मतगणनाअनुसार रास्वपाका उम्मेदवार योगराज पौडेललाई पछि पार्दै नेकपा एमालेका दामोदर पौडेल ‘बैरागी’ले अग्रता लिएका हुन् । बैरागीले ४ हजार ५५१ मत ल्याएका छन् । रास्वपका उम्मेदवार पौडेल ४ हजार १८६ मतसहित दोस्रो स्थानमा छन् ।
त्यस्तै गोरखा–१ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । मंगलबार विहान १००४ मत गणना हुँदा कांग्रेसका राजेन्द्र बजगाईंले ७६६ र नेकपा एमालेका रामशरण बस्नेतले ११९ मत पाएका छन् ।
उत्तरी क्षेत्रबाट मतपेटिका ल्याउन ढिलाइ भएका कारण मंगलबार मात्र मतगणना सुरु भएको थियो । यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रका हरि अधिकारी निर्वाचित भएका थिए ।