
काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिकतर्फको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी केन्द्रलाई उछिनेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबार राति पौने १० बजेसम्मको मतगणनामा ७ हजार ५६० मत प्राप्त गर्दा माओवादीले मात्र ४ हजार ४४८ मत प्राप्त गरेको छ ।
यस्तै पहिलो स्थानमा रहेको कांग्रेसले ११ हजार ५०२ मत पाउँदा एमालेले १० हजार ८२ मत देशभर पाएको छ । यस्तै राप्रपाले ३ हजार ७३४ मत पाउँदा नेमकिपाले १ हजार ३३ तथा अन्य दलले ४ अंकको मत ल्याउन सकेका छैनन् ।
यसैबीच ढिलागरी सुरु भएको मतगणनामा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा माओवादी केन्द्रले अग्रता लिएको छ । हालसम्म २८९ मत गन्दा माओवादी केन्द्रका उम्मेदवार माधव सापकोटा सुबोधले १२५ मत पाएका छन् ।
एमालेका उम्मेदवार सरेश नेपालले ११५ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १६ मत पाएका छन् । २२ मत भने बदर भएको छ ।
सोमबार कर्णालीका चारवटा जिल्लामा मतगणना जारी छ । जसमध्ये दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमाले, सल्यानमा नेकपा (एकीकृत समाजवादी), सुर्खेत २ मा नेपाली कांग्रेस र जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अग्रता कायम गरिरहेका छन् ।
प्रतिनिधि सभा अन्तर्गतको मतगणनामा दैलेख १ मा एमालेबाट रविन्द्रराज शर्मा र समाजवादीका प्रदेश अध्यक्ष अम्मरबहादुर थापाबीच कडा प्रतिस्पर्धा भइरहेको छ । थापा–शर्माबीच पालैपालो अग्रता लिने र पछाडि पार्ने क्रम चलिरहेको छ ।
पछिल्लो नतिजा अनुसार २ हजार ८५२ मत गणना हुँदा शर्माले १५२ मतान्तरले अग्रता कायम गरेका छन् । शर्माले १ हजार ३६१ मत ल्याउँदा थापाले १ हजार २०९ मत प्राप्त गरेका छन् ।
यस्तै राप्रपा महामन्त्री कुन्ती कुमारी शाहीले जम्मा ८१ मत मात्रै प्राप्त गरेकी छन् । यसअघि शर्मालाई थापाले लिड गरिरहेका थिए । सल्यानमा समाजवादीका उपमहासचिव एवं कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाले सुरुवात देखिनै अग्रता कायम गरेका छन् ।
पछिल्लो नतिजा अनुसार गणना भएको ७ हजार २९८ मतमध्ये ज्वालाले ३ हजार ३१ मत प्राप्त गरेका छन् । यहाँ उनको प्रतिस्पर्धी मानिएको नेकपा एमालेका राजेन्द्रवीर राय तेस्रो नम्बरमा छन् ।
ज्वालालाई स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले (पुतली)ले पछ्याइरहेका छन् । शाहले १ हजार ७५० मत प्राप्त गरेका छन् । एमालेका रायले ७७६ मत पाएका छन् ।
सुर्खेत २ मा भने कांग्रेसले लगातार लिड गरिरहेको छ । पछिल्लो नतिजा अनुसार जम्मा ७ हजार ७९१ मत गणना हुँदा कांग्रेसका हृदयराम थानीले ३ हजार ८१८ मत पाएका छन् । उनका प्रतिस्पर्धी एमालेका अमृत बिसीले २ हजार ६९५ प्राप्त गरेका छन् ।
जुम्लामा भने सुरुवात देखिनै राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले लगातार अग्रता कायमै गरिरहेका छन् । १ हजार ३ सय मत गन्दा शाहीले प्रतिस्पर्धीलाई तेब्बर मतले पछाडि पारेका छन् ।
उनले ८६७ मत प्राप्त गर्दा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी गोमा कुँवरले २८४ मत प्राप्त गरेकी छन् । यस्तै नेकपा एमालेका रतननाथ योगीले ६६ मत प्राप्त गरेका छन् । यस्तै दैलेख क्षेत्र नम्बर २ को मतगणना केहीबेर अघिमात्रै सुरु भएको छ ।