
चितवन । चितवन क्षेत्र नम्बर २ मा एमालेका कृष्णभक्त पोखरेलले आफ्नो अग्रता कायमै राखेका छन्। यहाँ अहिलेसम्म २८८५ मत गणना हुँदा पोखरेलले १३०६ मत ल्याएका छन्।
दोस्रो स्थानमा रहेका कांग्रेसका उमेश श्रेष्ठले ९५२ मत ल्याएका छन। राष्ट्रिय स्वतन्त्र पार्टिका रवि लामिछाने लागातार तेस्रो स्थानमा छन्। उनले ४३९ मत मात्रै पाएका छन्।
यस्तै प्रतिनिधि सभाको रूपन्देही क्षेत्र नम्बर २मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले अग्रता कायम राखेका छन्। सोमबार साँझ २६ सय गणना हुँदा पौडेलले अग्रता कायम राखेका हुन्।
उक्त मत गन्दा उनले ७९८ मत पाएका छन्। उनलाई नेकपा एमालेका विष्णु पौडेलले पछ्याइरहेका छन्। पौडेलले भने ७०७ मत प्राप्त गरेका छन्।
प्रतिनिधि सभातर्फ विभिन्न क्षेत्रको मतगणना भइरहेका छन्। एक क्षेत्र रहेको मुस्ताङमा भने नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भइसकेका छन्।
कांग्रेस अहिलेसम्म २८ ठाउँमा अगाडि छ। नेकपा एमाले १५ ठाउँमा अगाडि छ। राष्ट्रिय स्वतन्त्र पार्टी ७ ठाउँमा अगाडि छ भने राप्रपा ४ सिटमा अगाडि छ।
नेकपा एकीकृत समाजवादी चार सिटमा अगाडि देखिएको छ। नेकपा माओवादी केन्द्र ३ सिटमा अगाडि देखिँदा सिके राउत नेतृत्वको जनमत पार्टी २ सिटमा अगाडि छ।
लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी दुई-दुई सिटमा अगाडि छन्। नागरिक उन्मुक्ति पार्टी २ सिटमा अगाडि छ।
प्रदेश सभातर्फ नेपाली कांग्रेसले मुस्ताङमा एक सिट जितिसकेको छ। कांग्रेस १३ सिटमा अघि छ।
एमाले प्रदेश सभामा १८ सिटमा अग्रता लिँदा माओवादीले ५ सिटमा, राप्रपा ३ सिटमा र नागरिक उन्मुक्ति पार्टी ४ सिटमा अगाडि छ।