आज :

चितवन- २ ताजा अपडेट: रवि लामिछाने तेस्रो स्थानमा, कसले गर्दैछ लिड ?

  • अनलाइन डबली

चितवन । चितवन-२ को मतगणना सुरु भएको छ । ३०० मत गन्दा मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिएका छन्, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रो स्थानमा छन् ।

पोखरेलले १५०, नेपाली कांग्रेसका उमेश श्रेष्ठले ९७ र राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले २५ मत पाएका छन् । यो क्षेत्रमा इच्छाकामना गाउँपालिकाको वडा नं १ र २ बाट मत गणना सुरु गरिएको हो ।

उता नेकपा एमालेको गढ मानिएको कास्की-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलले अग्रता लिएका छन् । यो क्षेत्रमा एमाले उम्मेदवार विद्या भट्टराईले सुरुदेखि नै अग्रता लिने धेरैको अनुमान थियो ।

तर सोमबार दिउँसोसम्म प्राप्त मत परिणाममा माधवले ८७५ मत पाउँदा विद्याले ६९० र नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले ४६९ मत पाएका छन् । बराल सत्तारुढ गठबन्धनका उम्मेदवार हुन् ।

एमाले नेता तथा पूर्वपर्यटनमन्त्री रवीन्द्र अधिकारीले लगातार तीन पटक चुनाव जितेको यो क्षेत्रमा उनकी पत्नी विद्याले नै अग्रता कायम गर्ने अनुमान स्वभाविकै हो ।

रवीन्द्रको निधनपछि भएको उपनिर्वाचनमा विद्याले कांग्रेसका पाका नेता खेमराज पौडेललाई ८ हजार ४०३ मतान्तरले पराजित गरेकी थिइन् । २०७४ को निर्वाचनमा रवीन्द्रले सोही क्षेत्रमा कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५४६ मतान्तरले जितेका थिए ।

अन्य क्षेत्रमा एमालेभित्र अन्तरद्वन्द्व देखिए पनि कास्की-२ मा विद्याका सन्दर्भमा विवाद नदेखिएको नेताहरु बताउँथे । तर एमालेले लगातार दुई पटक वडाध्यक्ष समेत जितेको वडा नम्बर १५ बाट मतगणना हुँदा लगातार स्वतन्त्रका माधवप्रसादले अग्रता कायम गरिरहेका छन् ।

निर्वाचन अभियानमा खासै चासो नदिएका र धेरै मत काट्ने आँकलन नगरिएका उम्मेदवार कँडेलले अग्रता कायम गरेपछि उनको बारेमा सोधीखोजी सुरु भएको छ । कँडेल नेपाली कांग्रेसको राजनीतिबाट राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका हुन् ।

उनी ३० वैशाखको स्थानीय तहको निर्वाचनका कांग्रेसका उम्मेदवारको प्रचारमा नै हिंडेका थिए । उनको गाउँ पोखरा महानगरपालिका-३३ मा यसपालि कांग्रेसले नै जितेको छ । कँडेल रवि लामिछानेले पार्टी दर्ता गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकी प्रदेशको महामन्त्री बनेका थिए । कांग्रेस क्षेत्रीय प्रतिनिधि कँडेल १४ औं महाधिवेशनमा नेपाली कांग्रेस क्षेत्र नम्बर २ को सहसचिवमा पराजित भएका हुन् ।

कांग्रेसभित्र किनारा लगाउन खोजिएको, आफूलाई अवसर पनि नदिइएको उनको गुनासो थियो । राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै गण्डकीको महामन्त्री बनेका कँडेलले कास्की-२ को प्रतिनिधिसभाको टिकट पाए ।

चुनावी अभियानमा क्रममा उनीप्रति स्थापित भनिएका दलहरुको खासै चासो थिएन । उनको प्रसारप्रसारमा धेरै मान्छे पनि थिएनन् । तर देशभर घण्टीलाई मत जाँदा उनले पनि एमालेको जनमत रहेको क्षेत्रमै भोट ल्याएका छन् ।

उनले भोट ल्याउनुमा व्यक्तिगत सम्बन्ध र पेसा पनि हुन सक्ने नेताहरु बताउँछन् । पोखरा-३३ को एउटा निजी स्कुल र सरस्वती टीका माविमा कँडेलले १७ वर्षका पढाएका थिए । उनले विद्यार्थी र त्यस क्षेत्रका अभिभावकबाट पनि मत आफूलाई आउने बताउने गरेका थिए । उनी रजिस्टर्ड लेखा परीक्षक पनि हुन् । २१ वर्षदेखि लेखा परीक्षणमा लागेका कँडेलले इमान्दार र बौद्धिक व्यक्तिको छवि बनाएका छन् ।

हाल कँडेल र विद्या एउटै वडाका मतदाता हुन् । कतिपयले वडा नम्बर १५ मा पनि उनको सम्बन्ध भएकाले मत धेरै आएको र अरु वडामा पुगेपछि विद्याले अग्रता लिने अनुमान गरिरहेका छन् । कास्की-२ मा पर्ने पोखरा महानगरपालिकाको वडा नम्बर ३३, २१, १७, ७ लगायतका वडामा एमाले बलियो मानिन्छ ।

यो क्षेत्रमा प्रमुख प्रतिस्पर्धामा कँडेलको गणना नै थिएन । एमालेकी उम्मेदवार विद्या भट्टराई र सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका श्रीनाथ बरालको प्रमुख प्रतिस्पर्धा रहने अधिकांश अनुमान थियो । तर कँडेलले अग्रता गर्दा विद्या दोस्रो र श्रीनाथ तेस्रोमा छन् ।

एमाले हुँदा कहिल्यै संसदीय निर्वाचनमा अवसर नपाएका भनिएका श्रीनाथले सान्त्वना मत पाउने चर्चा पनि थियो । श्रीनाथलाई राप्रपाका सुवर्णराज पन्तले पछ्याइरहेका छन् ।

गत स्थानीय तहको निर्वाचनको मत परिणामअनुसार कास्की क्षेत्र नम्बर २ मा पाँच दलीय गठबन्धन एमालेभन्दा एक हजार मतले मात्र अगाडि थियो । कास्की २ मा ७९ हजार १३८ मतदाता छन् । जसमध्ये ४९ हजार ९२० मत खसेको छ । यो क्षेत्रमा पाँच जना स्वतन्त्रसहित १७ जनाले उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal